Logo

आयल निगमले भन्यो, ‘ईन्धनको मूल्य बढेकै छैन, २०७० मा १४० रुपैयाँ पर्ने पेट्रोल हाल १३६ मा पाईन्छ’

आयल निगमले भन्यो, ‘ईन्धनको मूल्य बढेकै छैन, २०७० मा १४० रुपैयाँ पर्ने पेट्रोल हाल १३६ मा पाईन्छ’



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नबढेको बताएको छ । निगमका कार्यवाहक उपकार्यकारी निर्देशक नागेन्द्र शाहले २०७० सालमा बढेको जति तेलको मूल्य हाल नबढेको बताएका हुन् ।

उनले विसं २०७० सालको फागुन महिनामा १ सय ४० रुपैयाँ प्रतिलिटर पुगेको पेट्रोलको मूल्य त्यसयता घट्दै ९८ रुपैयाँ प्रतिलिटरसम्म पुगेको बताए । ‘हालसम्म निगमले पेट्रोलको मूल्य घट्दै घट्दैन भन्ने छ,’ उनले भने, ‘हामीले २०७० सालको फागुनमा १ सय ४० रुपैयाँमा बेचेको तेल हाल १ सय ३६ रुपैयाँमा झरेको छ, यो घटेको होईन ?’

उनले २०७० यता पेट्रोलको मूल्य घट्दै प्रतिलिटर ९८ रुपैयाँसम्म पुगेको र त्यसपछि पनि बढ्दै हालसम्म १ सय ३६ रुपैयाँमात्रै पुगेको बताएका हुन् । २०७० सालदेखि यता अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटबढका आधारमा नेपालमा पनि घटबढ हुने गरेको उनको भनाई छ । उनका अनुसार २०७१ सालमा पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ पुगेको थियो । यस्तै त्यसको पछिल्लो बर्ष २०७२/७३ मा घटेर ९९ रुपैयाँ र आव २०७३/७४ मा अझ घट्दै ९८ रुपैयाँ पुगेको थियो । यस्तै आव २०७४/७५ मा अन्तरराष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि पेट्रोलको मूल्य बढेर १ सय १३ रुपैयाँ प्रतिलिटर पुगेको थियो । त्यसको पछिल्लो बर्ष २०७५/७६ मा पुनः मूल्य घटेर १ सय ८ रुपैयाँ, आव २०७६/७७ मा १ सय २ रुपैयाँ, २०७७/७८ मा १ सय २८ रुपैयाँ र चालु आवको ५ महिनामा १ सय ३६ रुपैयाँ पुगेको छ । यसरी हेर्दा पछिल्लो ८ बर्षमा पेट्रोलियम पदार्थको मूल्य समानान्तर रुपमा अघि बढिरहेको उनको भनाई छ ।

‘८ बर्षअघि १ सय ४० रुपैयाँमा बेचिरहेको तेलको मूल्य हाल १ सय ३६ रुपैयाँ मात्रै पुगेको छ,’ उनले भने, ‘मूल्य बढेकै छैन ।’
धेरैजसो वस्तुहरुको मूल्य २०७० सालयता उच्च रुपमा बढेपनि तेलको मूल्य भने अझै न्युन रहेको उनको भनाई छ । यस्तै डिजेलको मूल्य पनि सो समयमा प्रतिलिटर१ सय ९ रुपैयाँमा कारोबार भएको थियो हाल त्यसैगरी अघि बढेको उनले बताए । तर, घटेकै कुरा गर्दा पछिल्लो १० बर्षमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ रुपैयाँ प्रतिलिटर र डिजेल प्रतिलिटर ७२ रुपैयाँसम्म पनि पुगेको उनको भनाई छ ।

नेपाल आयल निगमले गत साउनमा नै पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ घाटा व्यहोरेको बताएको छ । निगमले सबै शुल्क जोडेर त्यसबेला १ सय ३९ रुपैयाँमा खरिद गरेको पेट्रोल १ सय २८ रुपैयाँमा बेच्ने गरेको थियो । यस्तै सो समयमा डिजल पनि प्रतिलिटर ६ रुपैयाँ घाटामा बेचिरहेको निगमको भनाई छ । तर, निगमले मट्टितेल भने केहि नाफा खाएर बेचेपनि बर्षभरी जम्मा २ करोड रुपैयाँ मात्रै त्यसबाट पुर्ति हुने बताएको छ । यसरी हालसम्म निगमको घाटा बढ्नुमा सबैभन्दा बढि हिस्सा खाना पकाउने ग्याँसको रहेको शाह बताउँछन् । उनका अनुसार निगमले मट्टितेलबाट मात्रै नाफा कमाएपनि कुल घाटाको ७० प्रतिशत हिस्सा एलपी ग्याँसकै हुन्छ । गत साउन १ गते १ हजार ७ सय ४४ रुपैयाँमा किनेको एलपी ग्याँस १ हजार ४ सय २५ मा बेच्नुपरेको थियो । यसरी निगमले उक्त समयमा खाना पकाउने ग्याँसमार्फत प्रतिसिलिण्डर ३ सय रुपैयाँभन्दा बढि घाटा व्यहोर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL