Logo

व्यवसायीको आक्रोश : ‘बैंकहरुले ब्याजदर अचाक्ली बढाए, फिर्ता लिनुपर्छ’

व्यवसायीको आक्रोश : ‘बैंकहरुले ब्याजदर अचाक्ली बढाए, फिर्ता लिनुपर्छ’



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्याधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुावालले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् ।

laxmi

कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको महासंघको ठहर छ । उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन । लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको भन्दै बढाइएको ब्याज तत्काल फिर्ता लिन महासंघले आग्रह समेत गरेको छ ।

‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझ खासगरी साना तथा मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ ।’

अचाक्ली बढाइएको ब्याजदर फिर्ता लिएर सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न महासंघले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समेत आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति :

प्रेस–विज्ञप्ति

विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकको अर्थतन्त्र निकै अप्ठेरो अवस्थामा पुग्यो । अहिले कोरोना संक्रमणको त्रास कम भएपनि अर्थतन्त्रमा देखिएका समस्या उत्तिकै छन् । देशको विद्यमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनले पनि मुलुकको अर्थतन्त्र सहि दिशामा अघि बढिरहेको छैन भन्ने पुष्टि हुन्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानी योग्य रकम (अभाव) को चर्को बहस समेत भइरहेको छ । उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन । लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको अवस्था छ । ब्याजदर अच्काली महंगो हुँदा यसले कोभिड पछि वौरिन लागेको उद्योग व्यवसाय थप संकटमा पर्नसक्ने देखिएको छ । पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

अझ खासगरी साना तथा मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ । ऋणमा मनपरी ढंगले ब्याजदर बढाउने, केही सिमित व्यक्तिहरुलाई सहुलियत पूर्ण तथा पुनकर्जा उपलब्ध गराउन सहयोग गर्ने, साना उद्योगी व्यवसायीहरुलाई सहज तरिकाले ऋण उपलब्ध नगराउने जस्ता काम रोक्न हामी सबै बैंकहरुसँग आग्रह गर्दै अच्काली बढाएको ब्याजदर घटाउन बैंकसमक्ष जोडदार माग गर्दर्छौै । असहज परिस्थितिको मौका नछोपी निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समेत हामी आग्रह गर्दछौँ ।

९ पुस २०७८

अध्यक्ष

नरेश कटुवाल

प्रतिक्रिया दिनुहोस्
MBL