Logo

सर्लाही चेम्बरको अध्यक्षमा रामभक्त प्रधान चयन, उपाध्यक्षमा ठाकुर, गोयल र श्रेष्ठ निर्वाचित

सर्लाही चेम्बरको अध्यक्षमा रामभक्त प्रधान चयन, उपाध्यक्षमा ठाकुर, गोयल र श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स सर्लाही जिल्ला कार्यसमितिको अध्यक्षमा रामभक्त प्रधान चयन भएका छन् । मंगलबार भएको जिल्ला कार्यसमितिको पहिलो साधारणसभाले प्रधानको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सर्लाही चेम्बरको वरिष्ठ उपाध्यक्षमा बैकुण्ठ सापकोटा, सुगन्ध गुप्ता निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा हरि मोहन ठाकुर, विकास गोयल र राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरि महासचिवमा सुशील चालिसे, उपमहासचिव कमलेश शाह, सचिवहरुमा रुद्र बहादुर श्रेष्ठ, रामपृत चौधरी र राजेश चौधरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा पवित्रा घिमिरे निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले जिल्लाको आर्थिक गतिविधीलाई अघि वढाउन साझा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । चेम्बर जिल्ला कार्यसमितिको हिजो उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक दृष्टिकोणले सर्लाही जिल्ला अग्रणी रहेको बताए । उखु, गोलभेँडा, विकासे मकै र तरुलको सबैभन्दा वढी उत्पादन हुने जिल्लाका रुपमा समेत सर्लाही चिनिएको अध्यक्ष मल्लले बताए ।

वार्षिक ३ अर्व २५ करोड रुपैयाको उखु उत्पादन भएपनि वास्तविक कृषकले लाभ पाउन नसकेको उनको भनाई छ । कृषिको उत्पादकत्व वृद्धिका लागि प्रविधिको विकास गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन् । सर्लाही धार्मिक पर्यटनको दृष्टिकोणले पनि उत्कृष्ट रहेको अध्यक्ष मल्लले बताए ।

मुर्तियाको महादेव मन्दिर, सल्यामपुरको चेलिमाई मन्दिर, सलैयादेखि मन्दिरहरुको प्रर्वद्धन गरी भारतीय धार्मिक पर्यटकलाई आकर्षित गर्न सके यसबाट जिल्लाले फाईदा लिन सक्ने उनको भनाई छ । अध्यक्ष मल्लसंग नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले सर्लाही सिमाबाट हुने अपराधिक गतिविधी रोक्न पहल हुनुपर्ने बताएका थिए । सो कार्यक्रममा चेम्वरका कार्यसमिति सदस्य निरज राई, प्रदेश २ का चेम्वर अध्यक्ष पवन ठाकुर सहितको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL