Logo

अर्थमन्त्रीको उद्घोष, निजी क्षेत्रको सहकार्यमा बन्द उद्योग संचालन, उद्योगलाई सस्तोमा बिजुली

अर्थमन्त्रीको उद्घोष, निजी क्षेत्रको सहकार्यमा बन्द उद्योग संचालन, उद्योगलाई सस्तोमा बिजुली



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाल बन्द अवस्थामा रहेका सरकारी सँस्थान तथा उद्योगहरु निजी क्षेत्रको सहकार्यमा संचालन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित नवउत्थान कार्यक्रममा उनले हाल बन्द अवस्थामा रहेको उद्योगलाई निजी क्षेत्रको सहकार्यमा संचालन गर्ने विषयमा छलफल भैरहेको बताएका हुन् । यसअघि सरकारले आफैले बन्द रहेको उद्योगको आवश्यकता हेरी संचालन गर्ने बताए पनि हाल भने निजी क्षेत्रको सहकार्यमा संचालन गर्ने जानकारी दिएका हुन् ।

यसैगरी अर्थमन्त्री शर्माले उद्योगका लागि सस्तो दरमा बिजुली उपलब्ध गराउने प्रवितवद्धता समेत व्यक्त गरेका छन् । ‘हामी विद्युत खेर गयो भनेर विद्युत नै उत्पादन गर्न बन्द गर्न खोज्दैछौ भने अर्कोतर्फ उद्योगले महंगोमा विद्युत किन्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अबका दिनमा बढीभन्दा बढी विद्युत उत्पादन गरेर उद्योगलाई पहिचानको आधारमा सस्तोमा विजुली उपलब्ध गरानेछौं ।’ साथै निकासी र उत्पादनमुखी उद्योगलाई प्राथमिकतामा राखेर सस्तोमा विद्युत उपलब्ध गराईने समेत उनले जानकार दिए ।

अर्थमन्त्री शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताए । ‘विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गरेर मात्र व्यापार घाटा कम गर्न सकिनेछ,’ उनले भने, ‘अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको छ तर विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो हुँदैन ।’

विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँने बताउँद नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । साथै कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क उपलब्ध गराउन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL