Logo

बजारमा दशैंको चहलपहल अझै शुरु भएन : व्यापारी तनावमा, मजदूरले काम पाएनन्

बजारमा दशैंको चहलपहल अझै शुरु भएन : व्यापारी तनावमा, मजदूरले काम पाएनन्



काठमाडौं । व्यापारीदेखि मजदूरसम्ममा उत्साह जगाउने दशैंको समय नजिकिएपनि काठमाडौंका मुख्य व्यापारिक केन्दमा अहिलेसम्म चहलपहल शुरु नहुँदा निराशा छाएको छ । अघिल्ला बर्षहरुमा दशैंका लागि एक महिना अघिदेखि नै व्यापारिक चहलपहल शुरु हुने भएपनि दशैं शुरु हुन ३ हप्ता बाँकी रहँदा पनि दशैंको चहलपहल शुरु हुन नसकेकोा व्यवसायी बताउँछन् ।

विशेष गरि दशैंको समयमा सबैभन्दा बढी विक्री हुने रेडिमेड लुगाका लागि नेपालभरका खुद्रा बजारका लागि होलसेल मार्केटका रुपमा चिनिएका महाबौद्ध, ओटु, न्यूरोड क्षेत्रमा यो वर्ष अहिलेसम्म चहलपहल देखिएको छैन् । यो क्षेत्रबाट नेपालका प्राय बजारमा लत्ताकपडा, इलेक्ट्रोनिक बस्तुसम्म पुग्ने गरेको छ । न्यरोड क्षेत्रमा प्राय भीडभाड भइ रहने भएपनि दशैं, तिहारलगायत चाडपर्वहरु आउनुभन्दा १ महिना अघिदेखि भने विशेष भीड देखिने गर्दथ्यो । देशभरका खुद्रा व्यवसायीहरुले दशैंकै लागि भन्दै लत्ताकपडालगायतका वस्तुहरु लैजाने हुनाले विशेष भीडभाड देख्न सकिन्थ्यो ।

यो बर्षको दशैंमा भने यस्तो रौनक न्युरोड क्षेत्रमा देखिँदैन । अर्थात दशैंका लागि आउने व्यवसायीहरु यो बर्ष अघिल्ला बर्षहरुजस्तो नआएसँगै उक्त क्षेत्रका व्यवसायीको व्यापार व्यवसाय पनि भनेबमोजिम चलेको छैन ।

मजदूरहरु खाली हात

अघिल्ला बर्षहरुमा फुर्सद नपाउने न्युरोड क्षेत्रका मजदूर तथा भरियाहरु अहिले खाली हात काम कुरेर बसेको देख्न सकिन्छ । धेरैले अहिले समय कटाउन लुँडो खेलिरहेको देख्न सकिन्छ । कामै नभएपछि यताउता घुम्ने र लुँडो खेल्नेबाहेक काम नहुने एक भरियाले बताए । उनका अनुसार अघिल्ला बर्षहरुमा उनीहरुको यतिखेर
काम भ्याइनभ्याइ हुन्थ्यो । हाल उक्त क्षेत्रमा प्राय भरियाहरु फुर्सदिला देखिन्छन् । ‘अघिल्ला बर्षहरुमा बजारमा व्यवसायीहरु टनाटन हुन्थे,’ उनले भने, ‘यो बर्ष अवस्था फेरियो हामी हालसम्म खाली छौं, काम गर्न पाएका छैनौं ।’ अघिल्ला बर्षहरुमा निश्चित पसलहरुबाट गाडीसम्म भारी बोकेर लिएवापत दैनिक ३ हजार रुपैयाँसम्म कमाउने भरियाहरुको दिनभर हात खाली हुनेगरेको छ ।

चीनबाट सामान आएन

यता चीनतर्फबाट सामान नआउँदा पनि बजारमा चहलपहलमा कमी आएको हिमालयन सीमापार वाणिज्य संघका उपाध्यक्ष नयन पण्डित क्षेत्री बताउँछन् । उनका अनुसार बजारमा बाहिरबाट सामान आएपछि देशभरका व्यवसायीलाई सूचना पुग्छ र सामान उठाउन आउँछन् । हाल त्यसो नभएपछि यसपाली बजारमा कमै चहलपहल देखिएको उनले बताए ।

तर, बजारमा भएको स्टक सामानको विक्री भने राम्रै भइरहेको उनको भनाई छ । यता नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल पनि कोरोना महामारी, बजारमा सामानको कमी, चीनबाट सामान नआउनुलगायतका कारणले चहलपहलमा कमी आएको बताउँछन् । उनका अनुसार चीन र नेपालको नाकाहरुबाट पछिल्ला दिनहरुमा पर्याप्त मात्रामा सामान नआएपछि बजारमा सामान नपुगेका कारण पनि चहलपहलमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL