Logo

साढे ६ अर्ब लगानीमा देशकै ठूलो स्टिल बिलेट उद्योग ‘सर्वोत्तम’ संचालनमा, वार्षिक ३ लाख मेट्रिक टन उत्पादन

साढे ६ अर्ब लगानीमा देशकै ठूलो स्टिल बिलेट उद्योग ‘सर्वोत्तम’ संचालनमा, वार्षिक ३ लाख मेट्रिक टन उत्पादन



काठमाडौं । व्यावसायिक घराना सौरभ समूहले देशकै ठूलो स्टिल बिलेट उद्योग संचालनमा ल्याएको छ । सो समुहले बाराको परवानीपुरमा यहि साउन ५ गतेदेखि देशकै सबैभन्दा ठूलो सर्वोत्तम स्टिल बिलेट उद्योग संचालनमा ल्याएको हो । 

वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिक टन डन्डी उत्पादन गर्ने लक्ष्य सहित उक्त उद्योग संचालनमा ल्याइएको सौरभ समुहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । ‘हामीले पहिलो चरणमा स्पन्ज आइरन (बिलेट बनाउने कच्चा पदार्थ) ल्याएर स्टिल बिलेट उत्पादन गर्न सुरु गरेका छौं,’ उनले भने, ‘अबको एक महिना भित्र डन्डी समेत उत्पादन गरेर बजारमा पठाउने छौं ।’

उद्योगले भारत, इरानलगायतका मुलुकमा स्पन्ज आईरन (बिलेट बनाउने कच्चा पदार्थ) ल्याएर स्टिल विलेट उत्पादन गर्ने छ । उद्योग वार्षिक ३ लाख मेट्रिक टन बिलेट उत्पादन गर्ने र सोमध्येबाट १ लाख मेट्रिक टन भने डन्डी उत्पादन गर्ने छ । 

कुल साढे ६ अर्ब रुपैयाँको लगानीमा संचालनमा आएको सो उद्योगमा स्थिर पूँजी साढे ३ अर्ब र चालू पूँजी ३ अर्ब लगानी रहेको छ । ‘अहिले प्रायःजसो नेपाली उद्योगले भारतबाट विलेट (तयारी फालम) ल्याएर डण्डी उत्पादन गर्दै आएका छन्,’ न्यौपानेले भने, ‘हाम्रो उद्योग संचालनमा आएसँगै नेपाली डण्डी उद्योगका लागि आवश्यक २५ प्रतिशत बिलेट नेपालमै उत्पादन गर्ने छौं ।’ उक्त उद्योग संचालनमा आएसँगै एमएस बिलेट (तयारी फलाम) खरिदका लागि बाहिँदै आएको विदेशी मुद्राको समेत बचत हुने न्यौपानेले जानकारी दिए । 

ms billet, sarbottam steel

नेपालमा सिमित उद्योगहरुले मात्रै आफैले स्पञ्ज आईरन ल्याएर बिलेट उत्पादन गर्दै आएका छन् भने धेरैजसो उद्योगले भारतबाट बिलेट ल्याएर डण्न्डी बनाएर बिक्री गर्दै आएको छन् । स्पन्ज आइरन ल्याएर नेपालमै एमएस बिलेट उत्पादन गरेर डन्डी बनाउँदा विद्युत, कामदार लगायतका स्रोतसाधन नेपालकै बढि प्रयोग हुने हुँदा त्यसमा भ्यालु एड बढि हुन्छ । तर एमएस बिलेट ल्याएर त्यसलाई पेलेर डन्डी उत्पादन गर्दा उद्योग तथा सरकारले पाउने नाफा न्युन रहन्छ भने त्यस्ता बस्तु आयातका लागि ठूलो रकम बाहिरिन्छ । 

तथ्याङ्क अनुसार पनि नेपाली डन्डी उद्योगहरुले वार्षिक ७० अर्ब रुपैयाँको एमएस बिलेट आयात गर्दै आएका छन् । यदि सरकारले कच्चा पदार्थ स्पन्ज आइरन मा लाग्दै आएको भन्सार दर एमएस बिलेटको भन्दा कम गरिदिने हो भने एमएस बिलेट आयातका लागि बाहिरिँदै आएको कुल रकमको ५० प्रतिशत रकम नेपालमै बस्ने उनको दावी छ ।  साथै सौरभ समुहले संचालनमा ल्याएको उक्त उद्योग पूर्ण क्षमतामा संचालनमा आएमात्रै पनि हाल भैरहेको कुल आयातको २५ प्रतिशत हिस्सा प्रतिस्थापन गर्न सकिने उनको दाबी छ ।

सरकारले हाल स्पन्ज आईरन (कच्चा पदार्थ) र एमएस बिलेट (तयारी फलाम) आयातमा एउटै भन्सारदर लगाउँदै आएको छ । स्पन्ज आइरन ल्याएर नेपालमै एमएस बिलेट उत्पादन गर्दा ५० प्रतिशतभन्दा बढी भ्यालु एड हुने भएपनि सरकाले तयारी र कच्चा पदार्थ आयातमा एउटै भन्सारदर कायम गरिदिँदा स्टिल, बिलेट उद्योगहरु फस्टाउन नसकेको सम्बद्ध उद्योगीहरु बताउँछन् । यदि सरकारले स्पन्ज आईरन (कच्चा पदार्थ) र एमएस बिलेट (तयारी फलाम) मा १० प्रतिशतमात्रै भन्सारदर फरक गरिदिने हो भने फलाम आयातको लागि बाहिरिँदै ठूलो रकम नेपालमै बस्ने सम्बद्ध उद्योगीहरू बताउँछन् ।

सर्वोत्तम उद्योगमा सौरभ ग्रुप र वीरगन्जका व्यवसायी राजेश अग्रवालको संयुक्त लगानी रहेको छ । जसमा सौरभ ग्रुपको ६० र अग्रवालको ४० प्रतिशत लगानी रहेको छ । करिव १६ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योग पूर्ण रुपमा संचालनका लागि मात्रै ४२ मेगावाट विद्युत आवश्यक पर्ने छ । जसले विद्युत खपमा समेत ठूलो सहयोग पुर्याउने छ । 

प्रतिक्रिया दिनुहोस्
MBL