Logo

भन्सार पास नगरी ल्याएका फोन आजदेखि नचल्ने, एमडीएमएस लागू

भन्सार पास नगरी ल्याएका फोन आजदेखि नचल्ने, एमडीएमएस लागू



काठमाडौं । मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पुर्ण रुपमा लागू भएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत भदौ ३० गतेदेखि एमडीएमएसको सफ्टलन्च गरेको थियो । अब भने आजैदेखि यसको पुर्ण रुपमा कार्यान्वयन भएको हो ।

एमडीएमएस कार्यान्वयनसँगै अव विदेशबाट भन्सार पास नगरी नेपाल भित्रिएका मोबाईलहरु नचल्ने भएका छन् । अर्थात सरकारी ढड्डामा दर्ता नभएका मोबाईलहरु अब नेपालभित्र संचालन नहुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले मोबाइल विक्रेताहरुसँगको घोषणा अनुरुप भदौ ३० गते नै एमडीएमएस प्रणाली संचालनमा ल्याएको थियो ।
यसअघि करिव ४ बर्ष अघि नै प्राधिकरणले नेपालमा हुने अवैध मोबाईलको आयात रोक्नका लागि एमडीएमएस प्रणाली लागु गर्ने योजना बनाएको थियो । कोरोना महामारीलगायतका विविध कारणले विदेशबाट ल्याउनुपर्ने उपकरण नै समयमा ल्याउन नसकिएपछि यसको कार्य प्रभावित भएको थियो ।

यसका लागि प्राधिकरणले चावहिलमा प्रशासनिक भवन बनाएर प्रणाली संचालनमा ल्याएको हो । उक्त भवनबाट सफ्टवेयरलगायतका कामहरु हाल हुने गरेका छन् ।

पछिल्लो ४ बर्षदेखि मोबाईल आयातकर्ताहरुले प्राधिकरणलाई सकेसम्म चाँडो एमडीएमएस प्रणाली स्थापना गर्ने दबाव दिँदै आएका थिए । सोही अनुसार प्राधिकरणले पनि अब चाँडै स्थापना हुन्छ भन्ने आश्वासन त दिन्थ्यो तर, भनेको समयमा संचालनमा ल्याउन सकिने अवस्था थिएन ।

यसै समस्या समाधानका लागि गत असारमा मोबाईल आयातकर्ताहरुले एमडीएमएस सम्बन्धी कार्यक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रममा नै प्राधिकरणका अध्यक्ष खनालले भदौ ३० भित्रै एमडीएमएस प्रणाली संचालनमा ल्याउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार प्राधिकरणले यसको सफ्ट लन्च गरेर आईएमईआई दर्ता नभएका मोबाइलमा कडाई गरेको थियो । तर, व्यवसायीको दवावमै रहेर घोषणा गरेको समयमा प्रणाली ल्याउन खोज्दा सेवाग्राहीले भने दोहोरो दुख पाउने अवस्था निम्तिएको छ ।

एमडीएमएसलाई खासगरी अवैध र चोरीका मोबाईल नियन्त्रण गर्ने अस्त्रको रुपमा लिईएको छ । अर्थात नेपालमा खपत हुने प्राय मोबाईलहरु अवैध मार्केटबाट आउने गरेको मोबाईल आयातकर्ताहरु बताउँछन् । उनीहरुका अनुसार नेपालमा भित्रिने ७० प्रतिशत मोबाईलहरु अवैध बाटोबाट आउने गरेका छन् ।

२०७६ सालमै चर्चा गरिएको मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) हालसम्म संचालनमा नआउनुको कारण महालेखा परिक्षकको ५९ औं प्रतिवेदनले पनि खोजिसकेको छ ।

यसअघि भदौमा प्रणालीको सफ्टलन्च भएपछि प्राधिकरणले हालसम्म नेपालमा संचालित मोबाईल अटोमेटिक दर्ता गरेको थियो । अर्थात हालसम्म नेपालमा आएका मोबाईल फोनहरु संचालन भएपनि अबदेखि आयात हुने मोबाईल भने नेपालमा संचालन गर्न नसकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL