Logo

कोरोना महामारीको असरबाट यसरी जोगाउन सकिन्छ नेपाली अर्थतन्त्र : मणिकरत्न शाक्यको लेख

कोरोना महामारीको असरबाट यसरी जोगाउन सकिन्छ नेपाली अर्थतन्त्र : मणिकरत्न शाक्यको लेख



सन् २०१९ को सेप्टेम्बरमा चीनको वुहान सहरको पशुपंक्षीको मासु बजारबाट कोरोना भाइरसको पहिलो संक्रमण भएको खबर विश्वसामु आयो । अहिले यस भाईरसको महामारी विश्वभर फैलिसकेको छ । यो लेख तयार हुँदासम्म तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । विश्वको अर्थतन्त्रमा तीन प्रतिशतको ऋणात्मक वृद्धिदर हुने प्रक्षेपण अहिले भइरहेको छ । यसको प्रभावहरु के हुन सक्छन् र यसले विश्वको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ? नेपालमा यसको प्रभावहरु कस्तो रहला र त्यसबाट बच्न के कस्ता उपायहरु अपनाउनु पर्ला ?

कोरोना संक्रमणको प्रभावका चरण

यो महामारी प्रभाव तीन चरणमा देखिन जाने छ ।

१) पहिलो चरणमा मानिसको स्वास्थ्यमा कोरोना भाइरसको संक्रमणको ठूलो समस्याहरु देखिने छन् । जुन अहिले संसारभर देखिईरहेको छ । भाइरस संक्रमितलाई आवश्यक स्वास्थ्य उपचार प्रदान गर्न धेरै ठूलो धनराशी, मानवशक्ति र औषधिको अभाव भईरहेको छ । अमेरिका, युरोप जस्ता धनी अनि अति विकसित महादेशमासमेत धनको, स्वास्थ्यकर्मीको, स्वास्थ्ययन्त्रको र औषधिको अभाव देखिएको छ ।

संक्रमणको पुष्टि गर्न गरिनु पर्ने टेष्टिङ किटदेखि श्वासप्रश्वासका समस्यालाई सहयोग र समाधान गर्न भेन्टिलेटर, आई. सि. यु. का बेडहरु, स्यानिटाइजर, मास्क, आइसोलेशन वार्डहरु, प्रयोग गर्नु पर्ने विभिन्न औषधिको कमी देखिएको छ । महामारीमा देशलाई परिपालना गर्नुपर्ने आपतकालीन स्वास्थ्य सेवा, लकडाउन लगायत आदेश कार्यान्वयन गराउन आवश्यक कानुन संशोधन र समयसापेक्ष नहुनाले र पुराना कानूनहरु अहिलेको यस महामारीमा सान्दर्भिक नहुनाले कानूनको अभाव देखिएको छ । त्यसैले पनि धेरै देशहरुले चाँडो चाँडो यस्ता महामारी नियन्त्रण गर्न आवश्यक कानुनहरुको निर्माण गरिरहेका छन् ।

अमेरिकामा केयर कानूनको निर्माण यहि हतारको बिचमा भएको छ र नेपालमा पनि यस्तै कानूनको आवश्यकता महसुस भएकोले कानून संशोधनको लागि विभिन्न चरणमा प्रक्रिया अगाडि बढी रहेकोछ । चाँडै नै नयाँ कानून पारित भएको समाचार हामीले सुन्न पाउँदैछौ ।

देशका नागरिकहरु बिरामी भई काम गर्न नसक्ने हुँदा ती नागरिकलाई आफ्नो घरखर्च चलाउन मुस्किल हुने र त्यसले गर्दा धनको ठूलो अभाव देखिन थालेको छ । आइसोलेशनमा राख्न, औषधिको खर्च, स्वास्थ्यकर्मीको खर्च, खानपानका लागि खर्च, अन्य स्वास्थ्य उपचारमा हुने विविध शिर्षकका खर्च पुर्याउन धेरै धनको आवश्यकता पर्दछ, जुन अभाव भएको देखिन्छ । संक्रमितहरुको अनपेक्षित मृत्यु हुन जाँदा त्यसबाट हुने नकारात्मक मानसिक, भौतिक, पारिवारिक असरलाई व्यवस्थित गर्नधेरै गाह्रो देखिएको छ ।

संक्रमणलाई फैलिन नदिन अपनाईएका लकडाउन, सामाजिक दुरी लगायत उपायका कारण उद्योग, व्यवसाय, व्यापार बन्द हुँदा रोजगारी क्रमशः कम हुँदै जानेछन् । कर्मचारी क्रमशः रोजगारी गुमाउने स्थितिमा पुग्दैछन् । आम्दानीक्रमशः घट्दै गईरहेको छ । कतिपय आम्दानी गर्न नसक्ने अवस्थामा पुगिरहेका छन् । उद्योग व्यवसाय, व्यापारमा भएका लगानीहरुले आआफ्नो ऋणमा तिर्नुपर्ने ब्याज, किस्ताहरु तिर्न नसक्ने अवस्थामा पुगिरहेका छन् । बचत भएको रकमले आफ्नो जिविका धान्न नसक्ने अवस्थामा पुगिरहेका छन् । विस्तारै आफूसँग भएका सम्पत्तिहरुको क्षयीकरण हुँदै सम्पत्ति नै नाश हुने परिस्थितिको सिर्जना हुँदै गईरहेको छ । आफ्नो अवकाशका लागि गरिएको बचतको रुपमा गरिएका लगानीहरु, घर, वाहनहरुको बिक्री गर्नु पर्ने समयको सामना गर्नु पर्ने स्थितिआउँदै गएको छ ।

२) दोश्रो चरणमा विभिन्न देशहरुले आआफ्नो अर्थतन्त्रमा परेका यस्ता परिस्थितिको सामना गर्न विभिन्न आर्थिक राहतका प्याकेजको घोषणा गर्दै क्षतिलाई न्यूनीकरण गर्ने कोशिस गर्दैछन् । लगानी भएका विभिन्न बैंकहरुले ठूलो रकमको प्रोभिजनका राशीहरु छुट्याउनु पर्ने स्थिति आएको छ । बैंकहरुले ब्याजदरमा कटौती गर्नुपर्ने र बैंकका लगानीमा प्रतिफल कम हुँदै जाँदैछ । तरलताको व्यवस्था गर्न क्रमशः मुस्किल हुँदै गईरहेको छ । नागरिकले आफ्नो जिविकाका लागि भएको बचतलाई प्रयोग गर्दै जाँदा समग्रमा बचतमा कमी हुँदै गईरहेको छ । आर्थिक गतिविधिहरु कम हुँदै जाँदा देशको विकासको दर कम हुँदै गएको छ । समग्रमा देशहरुमा आर्थिक गतिविधिहरुमा कमी आएको छ ।

३) तेश्रो चरणमायो महामारीले ल्याउने तमाम असर पछि विश्वमा चरम आर्थिक मन्दीको अवस्था आउँदै छ । स्वास्थ्यको समस्यालाई तत्काल समाधान गर्न नसक्नु, स्वास्थ्यलाई प्राथमिकता दिई व्यवसाय चलाउन खोजे पनि पुरानो गतिमा व्यवसाय नचल्ने, बेरोजगारी, आर्थिक उपार्जन गर्न नसक्नु, लगातारको घाटाको अवस्था रहि रहनु, लिएका ऋणहरु तिर्न नसक्नु, सम्पत्तिहरुको परित्याग गर्नुपर्ने स्थिति आउनु, साना ठूला व्यवसायीले व्यवसायहरु बन्द गर्दै जानु पर्ने अवस्था आउनु लगायतका कारणहरुले विश्वमा चरम आर्थिक मन्दीको अवस्था आउँदै छ । आर्थिक मन्दीको परिणाम स्वरुप तेलको अन्तर्राष्ट्रियभाउमा असामान्य कमी आएको छ ।

‘ नेपाल राष्ट्र बैंकले ब्याजमा २ प्रतिशतको छुट अन्तिम त्रैमासको लागि दिने भनि राहत दिन खोजेको छ । तर त्यतिले मात्र नेपालको अर्थतन्त्रमा खोजेको प्राण फुक्न सक्ने अवस्था छैन । ब्याज र किस्ता ३ महिना पछि सार्ने सुविधा दिएको छ, तर लकडाउनको समय थपिँदै गएको परिस्थितिमा त्यसपछि खप्टिएको साँवा र ब्याज तिर्न झन् व्यवसायीहरुलाई नै मारमा पार्ने निश्चित छ ।’

अन्तर्राष्ट्रिय रेटिङ्स एजेन्सि मूडीज को एक रिपोर्ट अनुसार संसारका सबै नै महादेशहरु यो मन्दीको दौरबाट गुज्रनुको विकल्प छैन । कुनै महादेशमा मन्दीको प्रभाव अलि कम होला, कुनैमा अलि बढी, तर सबै नै महादेशहरु मन्दीमा जाँदैछन् । संसारमा भएका विभिन्न व्यवसायमा पनि यसको असर अलग अलग पर्नेछ । पर्यटन, यात्रा, हवाई सेवा, होटल, रेष्टुरेन्ट, धार्मिक कार्यक्रम, सामाजिक कार्यक्रम गर्ने क्याटरिङ, इभेन्ट म्यानेजमेन्ट, गाडी तथा मोटरसाइकल उद्योग, सुनचाँदीका गरगहना, लगायतका व्यवसायमा ठूलो नकारात्मक असर पर्दैछ । थाई एअरवेज दामासाहीमा गएको समाचार भर्खरै आएको छ । यस्ता अन्य पनि धेरै समाचारहरु विस्तारै देखिँदै जाने सम्भावनाहरु छन् । यो क्रममा क्रमशः वृद्धि हुने र विश्वको अर्थतन्त्रमा चरम आर्थिक मन्दीको चरणहरु शुरु हुँदैछ ।

नेपालमा पर्ने असर :

नेपालमा पनि कोरोना भाइरसको प्रभाव अहिले द्रुत गतिमा फैलिँदै गएको छ । चैत्रको ११ गतेबाट नेपालमा लकडाउनको आदेश लागु भएको छ । अत्यावश्यक वस्तु र सेवा बाहेकका अन्य उद्योग, व्यवसाय, व्यापार बन्द भएको छ । नेपालमा पनि आर्थिक क्षेत्रको अवस्था हेर्दा अन्य मुलुकमा देखिए जस्तै आर्थिक क्रियाकलापहरु बन्द भएको र त्यसबाट सिर्जना हुने विभिन्न आर्थिक परिणामहरु देखिएका छन् ।

उद्योग व्यवसाय बन्द हुँदा लगानी भएको ऋणमा ब्याज र किस्ताहरु तिर्न नसक्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैंकले ब्याजमा २ प्रतिशतको छुट अन्तिम त्रैमासको लागि दिने भनि राहत दिन खोजेको छ । तर त्यतिले मात्र नेपालको अर्थतन्त्रमा खोजेको प्राण फुक्न सक्ने अवस्था छैन । ब्याज र किस्ता ३ महिना पछि सार्ने सुविधा दिएको छ, तर लकडाउनको समय थपिँदै गएको परिस्थितिमा त्यसपछि खप्टिएको साँवा र ब्याज तिर्न झन् व्यवसायीहरुलाई नै मारमा पार्ने निश्चित छ । नेपाल छिमेकी देशहरु भारत र चीन जस्तो ठूलो जनसंख्या भएको देश नभएकोले तुलनात्मक रुपमा यस महामारीको संक्रमणबाट हुने जोखिम कम रहेको छ । तर आर्थिक कठिनाईहरुको विश्लेषण गर्दा बृहत र सुक्ष्मरुपमा फरक फरक असर र सो असरहरु कम गर्नका लागि उपायहरु पनि फरक फरक अपनाउनु पर्ने छन् ।

बैंक तथा वित्तीय संस्था

बैंक तथा वित्तिय संस्थालाई विभिन्न ४२ बँुदे कार्य निर्देशहरु दिइएको छ, तर उनीहरुलाई यस अवस्थामा हुने क्रेडिट लसलाई लेखांकनमा सहुलियत पनि दिइनु पर्दछ । क्रमशः तीन बर्षमा समायोजन हुने गरि क्रेडिट लसलाई लेखाङ्कन गर्ने सुविधा दिइनु पर्दछ । यस महामारीबाट सिर्जित खराब ऋणलाई निश्चित समयसम्म गणना नगर्ने सुविधाहरु दिनु पर्दछ । हाल लागु भइरहेको एनएफआरएसको विधिमा आवश्यक परिमार्जन गरि लेखांकन गर्ने तरिकामा नयाँपन ल्याउनु पर्ने आवश्यकता छ । आईएफआरएस र सीईसीएल जस्ता अन्तर्राष्ट्रिय निकायहरुले यस महामारीसँग सम्बन्धित सिफारिस गरे जस्तै कार्यविधिहरु बनाई लागु गर्नुपर्दछ । कर्मचारीहरुको कार्यसमयलाई परिमार्जन गर्नु पर्ने भएमा सो को लागि अनुमति दिने व्यवस्था हुनु पर्दछ । बैंक तथा वित्तिय संस्थालाई आवश्यक तरलताको व्यवस्था गरिनुपर्दछ । खराब कर्जाको मात्रा बढ्न सक्ने भएकोले कर्जाको आधारमा पूँजी पर्याप्तताको गणनामा केही खुकुलोपन दिनु पर्ने हुन्छ । खराब कर्जाको गणना गर्ने समयावधिलाई ९० देखि १५० दिनसम्म बढाउनु पर्ने हुन्छ ।

कानून निर्माण

हामी कहिलै पनि नभोगेको नदेखेको महामारीको स्वरुप अहिले देख्दैछौं । नेपालको राज्य सञ्चालनमा यस्तो महामारीको परिकल्पना गरिएको थिएन । सन् २०३० मा जारी भएको महामारी रोकथाम ऐनमा भएका व्यवस्थाले अहिलेको यस महामारीलाई सम्हाल्न पुग्ने व्यवस्थाहरु नभएकोले विभिन्न कार्यकारी आदेश मार्फत शासन परिचालन गर्नु परिरहेको छ । देश २०७२ सालको नयाँ सविधान अनुसार केन्द्र, प्रदेश र जिल्लाहरुको संरचनामा गएकोले यसलाई नयाँ कानुनको व्यवस्था गरी मुलुकका विभिन्न भागमा हुने यस्ता संक्रमणको बेलामा नै नियन्त्रण गर्ने आवश्यक कानुनहरु बनाइनु पर्दछ ।

सेयर बजार

नेपालको लगानीको क्षेत्रको कुरा गर्दा सेयर बजारको पनि चर्चा गर्नै पर्दछ । महामारीका कारण विश्वको सेयर बजारमा कमी आएको र नेपालमा लकडाउन सँगसँगै नेपालको सेयर बजार पनि बन्द नै छ । यस बजारमा महामारीका कारणले आउन सक्ने मन्दी र मूल्यको कमीले चुनौती र अवसरहरुको सिर्जना गर्दैछ । कतिपय माथी उल्लेख गरिएका व्यवसायमा आधारित सेयरहरु अध्ययन गरि निवेश गर्ने वा विनिवेश गर्ने निर्णयहरु लगानीकर्ताहरुले गर्नु पर्नेछ । सरकारले देशको पूँजी बजारलाई जोगाउन लागि आवश्यक लगानी र योजनाहरु पनि प्रयोगमा ल्याउनु अत्यावश्यक छ ।

रोजगारी

नेपालको लगभग ६० लाख जनसंख्या वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ । यो महामारीको कारण रोजगारी गुमाउँदा लाखौंको संख्यामा विदेशिएका नेपालीहरु स्वदेश फर्कने अवस्था रहेको छ । देशमा पनि विभिन्न रोजगारीहरुमा कमी आउँदा ठूलो संख्यामा बेरोजगारी सिर्जना हुँदैछ । यो अवस्थालाई मध्यनजर गर्दै र महामारीबाट बच्दै विभिन्न क्षेत्रमा रोजगारीको सिर्जना गर्नु पर्ने आवश्यकता छ ।

आउँदो बजेट

बजेटको तर्जुमा भईरहेको सन्दर्भमा देशमा आउन सक्ने यस्ता विभिन्न आर्थिक समस्या समाधान गर्न आवश्यक व्यवस्था सहितको बजेट बनाइनु अत्यन्त आवश्यक छ । विभिन्न सम्पन्न मुलुकहरुले आफ्ना नागरिकलाई सम्भावित आर्थिक मन्दी र आर्थिक असुरक्षाबाट बचाउन विभिन्न राहत प्याकेजहरु र स्टिमुलस प्याकेजहरु दिने घोषणाहरु गर्दै ती सुविधाहरु प्रदान गर्दै छन् । नेपालले त्यस्तै राहतका योजनाहरु दिन नसकेता पनि रोजगारी वृद्धि हुने, आम्दानी हुने, उद्योगहरुको वर्गिकरण गरि क्रमशः आर्थिक गतिविधि गर्ने वातावरण बनाउन पहल गर्नु पर्दछ । ऋणीहरुलाई महामारीको प्रभावबाट बाहिर आउन नयाँ ऋणको आवश्यकता पर्नेहुन्छ । त्यसको लागि सहुलियत कर्जा र कर्जा छुट, ढिला भुक्तानीका सुविधाहरु, कर्जाका शर्तहरुमा पुनरावलोकन जस्ता औजारको पनि प्रयोग गर्ने व्यवस्थाहरु हुनु पर्दछ ।

‘ यस महामारी पश्चातको दुनियाँ फरक ढंगले बाँच्नु पर्ने हुँदैछ । भौतिक रुपमा सम्पर्क क्रमशः कम गर्दै डिजिटल रुपमा भेटघाट गर्ने प्रचलन आउँछ । यस्ता प्रविधिहरुमा विकास भई जूम जस्ता भर्चुअल मिटिंग गर्ने प्रविधिहरु , अमेजन जस्ता डिजिटल बजारहरु, पे पाल, अलिबाबा जस्ता डिजिटल पेमेन्ट सिस्टमहरु र नेपालका लागि पेमेन्ट गेट वे को विकास हुनेछ ।’

नेपाल कृषिप्रधान देश भएको र यहाँ प्रत्यक्ष विदेशी लगानीहरु त्यति नभएकोले अन्य देशहरुमा भन्दा अप्रत्यक्ष रुपमा नेपाललाई यस महामारीको असर कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि योजनाहरु आउनु पर्दछ । एउटा परिवारको अर्थतन्त्र चलाउन आवश्यक आम्दानी गर्न सकिने वातावरण बनाइनु पर्दछ भने समग्र देशको अर्थतन्त्रको लागि आवश्यक थप आर्थिक गतिविधिहरु हुने नीतिहरुको अवलम्बन गरिनु पर्दछ । यस महामारीबाट पर्ने नकारात्मक आर्थिक प्रभावहरु कम गर्न चरणबद्ध रुपमा लागु गर्ने नीतिहरु आवश्यक छन् ।

दिनदिनै संक्रमितहरुको संख्यामा वृद्धि हुँदै जानु र मृत्युको समेत समाचारहरु आउनाले जनमानसलाई स्वास्थ्यसँग अझ बढी संवेदनशील र त्रसित बनाएको छ । उद्योग व्यवसाय बन्द भई आर्थिक क्रियाकलापहरु कम भई राजस्व, रेमिटेन्स र अन्य आम्दानीमा कमी हुँदा आर्थिक श्रोतहरु क्रमशः कम हुँदै गएको छ । महामारीको रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरुको उपलब्धता, जनशक्ति, संसाधनहरुको उपलब्धता र सही नीतिको कार्यान्वयनले मात्र यसबाट बच्न र क्षति न्यूनीकरण गर्न सकिने भएकोले आगामी दिनहरु नेपालका लागि चुनौतिपूर्ण रहेका छन् ।

अवसरहरु

अवसरको कुरा गर्दा डिजिटल बैंकिंग, अनलाईन व्यापार गर्ने कम्पनी, सेवा प्रदायकका व्यवसाय, कन्सल्टेन्सी, खाद्य तथा पेय पदार्थहरु, इनर्जी सेक्टर, निर्माण, कृषिजन्य उद्योगहरु लगायतमा सकारात्मक असर वा व्यवसाय विकास गर्ने अवसर आउँदै छ । महामारीका कारण यातायात, उद्योगहरु बन्द हुँदा वातावरणमा धेरै सकारात्मक असर परेर प्रदुषणको स्तरमा कमी आई कतिपय प्रदुषित सहरहरुको वायुको स्तर स्वस्थवद्र्धक हुँदै गएको छ । यस महामारी पश्चातको दुनियाँ फरक ढंगले बाँच्नु पर्ने हुँदैछ । भौतिक रुपमा सम्पर्क क्रमशः कम गर्दै डिजिटल रुपमा भेटघाट गर्ने प्रचलन आउँछ । यस्ता प्रविधिहरुमा विकास भई जूम जस्ता भर्चुअल मिटिंग गर्ने प्रविधिहरु , अमेजन जस्ता डिजिटल बजारहरु, पे पाल, अलिबाबा जस्ता डिजिटल पेमेन्ट सिस्टमहरु र नेपालका लागि पेमेन्ट गेट वे को विकास हुनेछ । महामारीको असर कम भए पछि निजी सवारी साधनहरुको प्रयोगमा ह्वात्तै वृद्धि हुनेछ । औषधि उपचारहरुको लागि टेलि मेडिसिनका प्रविधिहरुको अझ विकास र प्रयोग बढ्दै जाने छ ।

अन्तत्वगत्ता संसारमा भएका समस्त मानवहरु एउटै हुन्, धनी गरिबको फरक क्रमशः कमी हुने र मानवीय संवेदनामा वृद्धि हुनेछ । स्वास्थ्य प्रति अझ बढी संवेदनशील र सतर्क भई स्वस्थकर जीवनशैली अपनाउने जीवन पद्दतीहरुको प्रयोग बढ्दै जानेछ । यस महामारीले इतिहासमा पहिले नभएको सम्पत्तिको हस्तान्तरण हुने र यस्तो विषम समयमा सही निर्णय गर्नसक्नेलाई धनी र नसक्नेलाई गरिब बनाई दिने अवस्था ल्याईदिएको छ । मन्दीका कारणले विभिन्न लगानीका साधन, सम्पत्तिहरुको मूल्यमा कमी आउँदा त्यस्ता सम्पत्तिको थप वृद्धि गर्न चाहनेका लागि अवसरहरु आउने छन् ।

आर्थिक पाटोलाई विश्लेषणगर्दै गर्दा स्वास्थ्यको पाटो सबैभन्दा पहिलो प्राथमिकतामा राख्नु पर्ने अवस्था छ । स्वास्थ्यमा आएको अहिलेको आपतकाललाई सकेसम्म छिटो समाधान गरेर, स्वास्थ्यलाई बचाएर मात्र आर्थिक लगायत जीवनका अन्य पाटाहरुमा ध्यान दिनु पर्ने आजको समयको आवश्यकता छ । यस अर्थमा आगामी दिनहरु अत्यन्तै चुनौतीपूर्ण रहेका छन् ।

(शाक्य ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्
MBL