Logo

कांग्रेसको आसन्न महाधिवेशन र नयाँ नेतृत्वको चर्चा

कांग्रेसको आसन्न महाधिवेशन र नयाँ नेतृत्वको चर्चा


रामराजा श्रेष्ठ
0
Shares

कमल ठकुरी

२७ असार, काठमाडौं । नेपाली कांग्रेसको पूर्वघोषित महाधिवेशनको मिति करिव दुई महिना बाँकी छ । तर नयाँ नेतृत्व चुन्ने यो लोकतान्त्रिक जमघटको मिति नजिकिदै गर्दा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला भने अहिले ऐतिहासिक द्विविधमा देखिन्छन् । सिद्धान्तत द्विविधाका चारवटा सहउत्पादनहरु हुन्छन । शंका, त्रास, अनिर्णय र अनिर्णय नै सर्वश्रेष्ठ अस्त्र मान्ने निश्कर्ष । द्विविधामा परेका पार्टी सभापति अहिले यिनै सहउत्पादनहरुको घेरोभित्र रुमल्लिइरहेका छन् । उनी पर्ख र हेरको मनस्थितिमा देखिन्छन तर पर्खेर हेरिरहँदा महाधिवेशनको मिति नजिकिनेबाहेक नयाँ केही फल्न सकेको देखिदैन ।

आफू फेरि पार्टीको नेतृत्वमा नआउने भनिसकेकोले नैतिक दबाब छ । अर्कोतिर उनी नआई कोइराला परिवारको संरक्षण हुँदैन भन्ने पारिवारिक विश्लेषण पनि छ । फेरि उठ्नु ठीक भनेर तर्क गर्नेहरुको अर्को विश्लेषण के पनि छ भने संबिधान बनेको खण्डमा जस पाइने भएकोले पार्टीको चुनावमा उठेमा उनले जित्नेछन । त्यसैले पार्टी सभापतिमा दोहोर्याएर उठ्दिन भन्ने अडान लिएपनि फरक परिस्थितिमा अर्को एक कार्यकालका लागि उठ्नुपर्छ भन्ने पारिवारिक दबाब चर्को छ । संबिधान निर्माण हुन सकेमा आफूले अहिलेसम्म नपाएको एउटा महत्वपूर्ण पद राष्ट्रपतिका लागि पहल किन नगर्ने भन्ने लोभले पनि घच्घच्याउने गरेको हुनुपर्छ । तर, यी द्विविधाका बीच पार्टीको महाधिवेशनका तयारीका कामहरु अवरुद्ध भएका छन । मिति सार्न सक्ने बैधानिकता समाप्त भैसकेकोले कोइरालालाई अव यो विकल्प पनि बाँकी छैन ।

congress

 

प्रधानमन्त्री कोइराला पार्टी सभापतिमा एक कार्यकाल मात्र रहने उद्घोष गरेर अघिल्लो महाधिवेशनमा उम्मेद्वारी दिएपनि कोइराला परिवारका अन्य सदस्यहरु उनलाई फेरि अघि सार्ने मनस्थितिमा रहेको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री र पार्टी सभापति भैसकेको, रोगले गाल्दै लगेको र सरकारमा बसेको बेला कतिपय कार्यकर्ताहरुले चाहेजस्तो काम गर्न नसकेकोले पार्टीभित्र प्रियता घट्दै गएको छ । यस्तो अवस्थामा फेरि उठ्दा जितेमा त ठीकै छ हारेको खण्डमा के गर्ने ? यति ठूलो जुवा खेल्ने कि नखेल्ने ? उनी घनघोर द्विविधामा देखिन्छन । नजिकका नेताहरुसँग उनले यस्तो द्विविधा प्रकट गरिरहेको बताइन्छ ।
यही द्विविधाका बीच संविधान निर्माण गर्न सकेमा आफू एकपटक राष्ट्रपति पदका लागि प्रत्यासी बन्ने, सरकार एमालेलाई जिम्मा लगाउने र पार्टीमा स्वतन्त्र प्रतिस्पर्धा गराउने मनस्थितिमा रहेको र संविधान निर्माणको प्रयासलाई तिब्रता दिन थालेको नजिकका कार्यकर्ताहरु बताउँछन । तर, पार्टी कोइराला परिवारको पक्कडबाट फुत्किएपछि फिर्ता हुन्छ कि हुँदैन भन्ने ठूलो चिन्ता उनी र पारिवारिक सदस्यहरुलाई पनि छ । त्यसैले यत्तिकै पार्टीको नियन्त्रण छोड्ने मनस्थितिमा कोइराला छैनन् भन्नेहरु थुप्रै छन । परिवारका सदस्यहरुलाई पनि आन्तरिकरुपमा को अगाडि बढ्ने भन्ने प्रतिस्पर्धा छ । संविधान निर्माण गर्न सकेमा जस कोइरालालाई जाने भएकोले पार्टीको चुनाव जित्न सहज हुने र कोइराला नजिकका परिवारिक सदस्यहरु ह्वात्तै माथि आउने भनेर ती सदस्यहरु पार्टी सभापतिमै जोड दिन आग्रह गरिरहेका छन । यो द्विविधा रहेकोले महाधिवेशन नजिकिदै गर्दा पनि अन्य आकांक्षीहरु जति तातेका छन, त्यसरी कोइराला तातेका छैनन् ।

नजिकबाट उनलाई चिन्नेहरु भन्छन्, कम बोल्ने तर खुराफातमा छुरा भएकोले कोइराला आफूले मन पराएका सशांक कोइरालालाई अगाडि ल्याउन दाउ हेरिरहेका छन । सशांकको पार्टी हैसियत कमजोर भएकोले स्वीकार्यता हुन सक्दैन । सशांकका लागि त्यो छिटो बाटो उनले देखिरहेका छैनन् । पार्टीमा शेखर केही अगाडि भएपनि प्रधानमन्त्रीको चित्त नबुझेको व्यक्ति भएकोले अगाडि आउन सक्ने देखिदैन । सुजातालाई पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुले मन पराउँदैनन भने स्वयं सुशील पनि उनलाई पत्याउँदैनन् । यस्तो अवस्था आए फेरि एकपटक सुशील सभापतिमा उभिन सक्नेछन । उनी भने यस्तै द्विविधा कायम राखेर प्रतिपर्धीलाई रणनीति तिखार्ने मौका नै नदिई अगाडि बढ्ने मनस्थितिमा रहेको अडकलबाजी हुँदैछ ।

नजिकको प्रतिस्पर्धी एमाले र जंगलबाट भर्खरै खुला प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेको एमाओवादीसँग कसले मुकाविला गर्न सक्छ, हामी त्यही नेता र यस्तै नेतृत्वको खोजीमा छौं । पार्टीको महाधिवेशन नजिकिदै गर्दा अहिले आम कांग्रेसजन यही मनोभावनामा उभिएको भेटिन्छन । उनीहरु भन्छन् नयाँ नेतृत्व जुझारु र संघर्षशील हुनुपर्छ । बैचारिकरुपले स्पष्ट र नयाँ पुस्तालाई नेतृत्व दिन सक्ने सक्षम हुनुपर्छ । नयाँ पुस्ताका पार्टी कार्यकर्ताहरुमा र नेतृत्वको आकांक्षा नराख्ने पार्टीका पुराना नेताहरुमा एउटा दरिलो विश्लेषण के रहेको छ भने आगामी एक दशकजति मुख्य प्रतिस्पर्धी पार्टी कांग्रेसका लागि एमाले र माओवादी नै हुन । यस्तो अवस्थामा कमजोर नेताबाट पार्टीले गति लिन सक्दैन । कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न सक्दैन । यसका लागि हक्की स्वाभावका र राजनीतिक तथा आर्थिक विषयवस्तुको प्रशस्त ज्ञान भएका डा रामशरण महतजस्ता नेताहरु नेतृत्वमा आउनुपर्छ । पार्टीका कार्यकर्ताहरुमध्ये यसपटक भण्डै आधाजति नयाँ पुस्ता नै छन । पढेलेखेको पुस्ता पनि भएकोले उनीहरु डा महतजस्ता नेतालाई अघि बढाउन चाहन्छन ।

उनीहरुको भनाईमा संविधान निर्माणपछि मुलुक समग्ररुपमा आर्थिक एजेण्डामा केन्द्रित हुनुपर्छ । राजनीतिक विवादको एउटा पाटो समाप्त हुन्छ र दशकौंको विवाद पनि यससँगै अन्त्य हुनुपर्छ । कांग्रेसले जसरी हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्यो, त्यसैगरी जनताको एकमात्र चाहनाको रुपमा रहेको आर्थिक विकासमा अगुवाई गर्नुपर्ने हुन्छ । जतिबेला सरकारमा जाँदा पनि कांग्रेसले यस्तो भूमिका निर्वाह गर्दै आएको पनि छ । आगामी दिनमा मुलुक आर्थिक एजेण्डामा केन्द्रित हुँदा अझ आर्थिक विषयका जानकारहरुको भूमिका बढ्ने निश्चित छ । सरकारमा त अव विश्वस्तरीय आर्थिक ज्ञाताहरु नभै सरकारको प्रभावकारी सञ्चालनको परिकल्पना गर्न सम्भव नै छैन । पार्टीमा सञ्चालनमा समेत अव यस्तै नेतृत्वको खाँचो छ । अवको नेतृत्व आफ्ना स्पष्ट नीतिहरु अघि सार्ने र ती नीतिहरुलाई स्वदेशी नागरिकहरुलाई सहमत गराउने मात्र होइन, विश्वका दिग्गजहरुलाई पनि चुनौती दिन सक्ने र प्रतिरक्षा गर्न सक्ने हुनुपर्छ । यस्तो अवस्थामा विशुद्ध राजनीतिक रटान मात्र लगाउने नेताहरु पाखा लाग्ने स्थिति उत्पन्न हुनेछ । पुराना र नपढेका पुस्ताहरु कालक्रमसँगै बढारिएर जानेछन ।

बिगत केही बर्ष यता डा महत पार्टी र सरकारमा पनि एकछत्ररुपमा प्रभाव पार्न सफल देखिएका छन । काम र चर्चाका हिसावले उनले अरु कसैलाई अगाडि आउन दिएका छैनन । माओवादीका लडाकु समायोजनका अवसरमा निर्वाह गरेको भूमिकादेखि नै अहिलेसम्म डा महत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जसरी एकछत्ररुपमा चर्चाको शिखरमा छन । जलविद्युतमा विदेशी लगानी आकर्षित गर्न गरिएका पहल र लगानीका ठूला ठूला सम्झौता र भारतसँगको विद्युत व्यापार सम्झौता हुँदै पछिल्लो समय भूकम्पको महाविपत्तिपछि दाता सम्मेलन आयोजनासम्मको अगुवाई मात्र होइन, सफल समेत बनाएका डा महतको स्वीकार्यता र आवश्यकता अझ बढेको स्पष्टै छ । उनको बढ्दो प्रभाव नियन्त्रण गर्न प्रतिपक्षीहरु समेत तयारीमा जुटेका छन भने पाटीभित्रकालाई त अझ कठिन नै हुनेछ । यही कारण हुनसक्छ, मनले मानी नमानी पनि प्रधानमन्त्री कोइरालाले डा महतलाई हरेक निर्णायक वैठकहरुमा सहभागी गराई अन्तिम कुरा सुन्ने गरेका छन । खासमा कोइराला पौडेल, केसी र प्रकाशमानहरुको गुट निर्माण नभएको भए डा महतलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउन चाहन्थे । उनले आफ्नो मन्त्रिपरिषदमा डा महतलाई पहिलो मन्त्री नियुक्ति गरेर यसको सन्देश दिइसकेका थिए ।

यस पृष्ठभूमिमा डा महत र वरिष्ठमध्येका रामचन्द्र पौडेलका बीच सहमतिको विन्दु खोज्ने कोशिश पनि हुँदैछ भन्ने सुनिन्छ । डा महतलाई पार्टी सभापति दिने र अन्य मुख्य पदाधिकारीहरुमा कोइराला परिवारका सदस्यहरुलाई पुर्याउने एउटा समीकरण रहेको छ भने अर्को यही अवस्थामा पौड्ललाई दिएर डा महत तथा कोइराला परिवारका सदस्यहरुलाई पदाधिकारीहरुमा व्यवस्थापन गर्ने विकल्पका बारेमा पनि चर्चा भैरहेको समाचारहरु चुहिने गरेका छन । पौडेललाई नियन्त्रण गर्न सकिने र डा महतलाई नियन्त्रण गर्न नसकिने सहजता र प्रतिकूलताका बीच यस्ता बहस हुने गरेको बताइन्छ । कांग्रेसमा धेरै नेताहरुलाई समेट्न उपसभापति पद धेरैवटा बनाउने चर्चा चल्न थालेको छ । त्यसैगरी महामन्त्री र सहमहामन्त्री पदहरु पनि बढाइने चर्चा छ । मूल पदाधिकारीहरु कोइराला र देउवा पक्षबीच प्यानल भएपनि केन्द्रीय सदस्यहरुमा भने प्यानल हुने सम्भावना यसपटक कम छ ।

अव मुलुक आर्थिक एजेण्डामा जाने, माओवादी र एमालेले समेत डा महतकै आर्थिक नीति पछ्याएर उहाँको उचाई बढाएको, डा महत र अर्जुननरसिंह केसीबीचको टकरावलाई देखाएर कोइरालाहरुले दुबैलाई माथि उठाउन नखोजेको र यसैको परिणामस्वरुप एउटाले उपप्रधानमन्त्री र अर्कोले मन्त्री पद गुमाउनुपरेको विश्लेषणका आधारमा युवा नेता गगन थापाले दुबै पक्ष मिलेर महाधिवेशनमा भाग लिनुपर्ने पहल पनि थालेको चर्चा थियो । तर यसबीचका घट्नाले यो पहलले मूर्तरुप पाउन नसकेको बताइन्छ ।

पार्टीले आयोजना गरेका धेरै कार्यक्रमहरुमा डा महत प्रभावी हुने गरेका छन । प्रखर वक्ता र विषयवस्तुको बृहद ज्ञानका कारण उनी यस्ता वैठकहरुमा एकपक्षीयरुपमा प्रभाव पार्न सफल देखिन्छन । वैशाख १२ मा पार्टीले आयोजना गरेको एक कार्यक्रममा पनि डा महतले उपस्थित नेता, सभासद तथा मुख्य कार्यकर्ताहरुलाई राम्ररी नै प्रभावमा पारेका थिए । त्यहीबेलादेखि पार्टीभित्र उनको नेतृत्वको बढी चर्चा हुन थालेको सुनिन्छ ।

यसरी हेर्दा कांग्रेसको आगामी नेतृत्वमा अर्थमन्त्री डा महत प्रबल दाबेदारको रुपमा प्रस्तुत हुनसक्ने अनुमान गर्न कठिन छैन । वरिष्ठताका हिसावले पौडेलले पनि आफ्नो दाबी प्रस्तुत गर्नेछन । यस्तो स्थितिमा शेरबहादुर देउवा, डा महत र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने संभावना बढी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL