Logo

कृषि विकास बैंकद्वारा ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’को शुभारम्भ, यस्ता छन् विशेषता

कृषि विकास बैंकद्वारा ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’को शुभारम्भ, यस्ता छन् विशेषता



काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसरमा ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । वार्षिकोत्सवका अवसरमा बुधबार आयोजक एक समारोहमा अर्थमन्त्री विष्णु पौडेलले उक्त एप तथा कार्डको शुभारम्भ गरेका हुन् ।

laxmi

कृषि क्षेत्रमा सरकारी नीति नियम, कृषि उत्पादन, बजारीकरण, बजारको जोखिम कम गर्ने उपायलगायतका विषयमा जानकारी दिन उक्त एप सेवा सुरु गरिएको बैंकले जनाएको छ । एपमार्फत बिउविजन, खेती प्रविधि र बजार मूल्यबारे जानकारी गराउने लक्ष्य छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रविधिको क्षेत्रमा विश्वले चमत्कार गरेको र त्यसलाई नेपालले पच्छ्याउने कोसिस गरेको बताए । ‘कृषिमा यसो प्रविधिको प्रयोगले कृषिलाई प्रविधिमैत्री बनाउँदै लाने छ,’ उनले भने ।

कृषि क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व लिन, कृषकलाई बैंकमार्फत अझ बढी लाभ दिन समेत उनले बैंकको व्यवस्थापनलई सुझाव दिए । कृषिमा लगानीका लागि ६ अर्ब रुपैयाँको बण्डको समेत उनले शुभारम्भ गरेका छन् ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘किसान एप’ र ‘किसान कार्ड’ले डिजिटल भुक्तानीलाई सघाउने बताए । सरकारले डिजिटल नेपाल फ्रेमवर्क तयार पारी हरेक क्षेत्रमा डिजिटलाइज गर्न चाहेकोले यो कार्य महत्वपूर्ण रहेको समेत उनले बताए । कृषि विकास बैंक विगतको तुलनामा राम्रो प्रगतिमा देखिए पनि अझै धेरै सुधार गर्नुपर्ने उनले बताए ।

‘वाणिज्य बैंकहरुबाट भएको लगानीको २० प्रतिशत कृषि विकास बैंकबाट भएको छ,’ उनले भने, ‘निक्षेप संकलनमा यो बैंक ११ औं, कर्जा प्रवाहमा ८ औं र विदेशी मुद्रा सञ्चितमा सबैभन्दा अन्तिममा रहेको छ । समग्रमा २७ ओटा वाणिज्य बैंक मध्ये कृषि विकास बैंक २६ औं नम्बरमा छ । त्यसैले यो अझ प्रतिस्पिर्धी हुनुपर्छ ।’

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्वदायी भूमिका पाएको कृषि विकास बैंकसँग सहकार्य गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरु तयार रहेको बताए ।

कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले हालसम्म १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको बताए । यस मध्ये २८ प्रतिशत कृषि क्षेत्रमा प्रवाहित भएको उनको भनाइ छ । बैंकका १ लाख ५२ हजार ऋणी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL