Logo

शाखारहित बैंकिङ्क संचालन गर्न युकेएडसँग सम्झौता, १७३ काउण्टर संचालन गरिने

शाखारहित बैंकिङ्क संचालन गर्न युकेएडसँग सम्झौता, १७३ काउण्टर संचालन गरिने


बिजखबर संवाददाता
0
Shares

भुकम्पबाट बढी प्रभावित १४ जिल्लामा शाखारहित बैङ्कीङ काउण्टरहरु सञ्चालन गर्नेबारे बृहत साझेदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार विभिन्न १४ जिल्लामा १ सय ७४ ओटा शाखा संचालन गरिने भएको छ । बेलायति सहयोग नियोग (यूकेएड)को सहायतामा सञ्चालित ‘सक्षम एक्सेस टू फाइनान्स’ परियोजना र विभिन्न वाणिज्य बैङ्कहरुबीच यस्तो समझदारीमा हस्ताक्षर भएको हो ।

उक्त साझेदारी अनुसार नेपाल इन्भेष्टमेण्ट बैङ्क, एनएमबी बैङ्क, सिटिजन्स बैङ्क, ग्लोबल आईएमई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सानिमा बैङ्क र सिद्धार्थ बैङ्कले परियोजनाको सहायतामा शाखारहित बैङ्कीङ काउण्टरहरुको विस्तार गर्ने भएका छन् । सोमवार एक कार्यक्रमबीच उक्त बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरु र सक्षमका बलजित भोहराले हस्ताक्षर गरेका छन् । सन् २०१५ भित्रै उक्त संख्यामा ‘ब्राञ्चलेस बैङ्कीङ’ काण्टर सञ्चालनमा आइसक्ने आयोजकले बताएको छ । ‘भुकम्प प्रभावित इलाकाका दुर्गम क्षेत्रमा तुरुन्त वित्तीय सेवाहरु प्रदान गर्नुपर्ने दबाब आइरहेको समयमा यी महत्वपूर्ण वित्तीय सेवाहरु प्रारम्भ गर्न लागिएको हो’ सक्षमले भने ।

जसमध्ये ५५ ओटा काउण्टर भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । भुकम्प लगत्तै स्थानीय आवस्यकतालाई मध्येनजर गरेर हामीले त्यस्ता काउण्टरहरु सञ्चालनमा ल्याइएको सक्षमका सूचना अधिकारी उत्सव शाक्यले जानकारी दिए । ‘अहिले परियोजना स्वीकृत भएपछि ती काउण्टरलाई पनि गणना गरेर कुल १ सय ७३ पुर्याउन लागेका हौं,’ उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले प्रविधिको प्रयोग बैङ्कीङ सेवाका लागि ठूलो बरदान सावित भएको र यसको जतिसक्दो बढी प्रयोग गर्नुपर्ने बताए । तर, सूचना प्रविधिको जोखिमलाई घटाउने कार्यमा पनि बैङ्क तथा वित्तीय संस्थाहरुले ध्यान दिनुपर्ने उनको भनाइ थियो । त्यस्तै, राष्ट्र बैङ्कका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने ग्रामीण क्षेत्रमा बैङ्कीङ सेवा प्रबद्र्धन गर्नु एकदमै जरुरी भएको बताए ।

यसैगरी, बेलायती सहायता नियोग (डीफआईडी) का आर्थिक विकासको टोली प्रमुख गोरेथ वेयरले नेपाल राष्ट्र बैङ्क, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल बैङ्कर्स एशोसियशनबीचको ग्रामीण वित्तलाई सहज बनाउने आफुहरुले सहयोग गरेको बताए । साथै, बैङ्कीङ प्रणालीमार्फत भुक्तानी दिने व्यवस्थालाई थप शसक्त बनाउन तयार भएको समेत उनको भनाइ थियो ।

रुपान्तरित शाखारहित बैङ्कीङमा ‘पोइण्ट अफ सेल मेसिन’, एजेण्टमार्फत सञ्चालनमा ल्याइने मोबाइल फोन र ट्याब्लेट, विस्तारित काउण्टर र भौतिक शाखाहरुको उपयोगमार्फत लघु बैङ्कीङ सेवाजस्ता रणनीति अपनाइएको सक्षमले बताएको छ । साथै, देशको दुर्गम भुभागमा भएका घरधूरी तथा उद्यमहरुमा वित्तीय सेवाको पहूँचलाई अझ व्यापक बनाईने सक्षमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL