Logo

गभर्नरले भने : भ्रष्टाचार रोकेर पारदर्शी अर्थतन्त्र बनाउन डिजिटल कारोबार आवश्यक

गभर्नरले भने : भ्रष्टाचार रोकेर पारदर्शी अर्थतन्त्र बनाउन डिजिटल कारोबार आवश्यक



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निमित्त विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलामा आयोजना गरेको डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै उनले डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ रहेको उनको भनाई थियो ।

कार्यक्रममा उनले डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहन समेत सबैलाई अनुरोध गरेका छन् । सो अवसरमा गभर्नर अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको जानकारी दिँदै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुआत गरिएको बताए । ‘क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ,’ उनले भने, ‘यो आफैमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ ।’

सो अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी दिएका थिए । साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत पौडलले बताएका थिए ।

सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायतका विविध पक्षबारे जानकारी दिएका थिए । कार्यक्रममा वाणिज्य बैंकका सुदूरपश्चिम क्षेत्रका प्रदेश प्रमुख, दार्चुलास्थित बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र विद्यार्थीसहित सयभन्दा बढीको सहभागिता थियो ।
विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’ को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ ।

यसैबीच, गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गरेका छन् । साथै सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखलाई यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

यसै गरी, उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लाको उद्यम÷व्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे जिज्ञासा राखेका थिए । कृषि ज्ञान केन्द्रका प्रतिनिधिसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लामा व्यावसायिक कृषिको विद्यमान अवस्था, सम्भावना, कृषि कर्जा तथा ब्याज अनुदान र कृषि क्षेत्र प्रवद्र्धनका भावी सम्भावनाका विषयमा जानकारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL