Logo

चर्को व्याजले किस्ता तिर्न नसक्दा कालोसूचीमा पर्ने उद्योगी व्यवसायी ३ गुणाले बढे, कर्जा नउठ्दा तनावमा बैंकका कर्मचारी

चर्को व्याजले किस्ता तिर्न नसक्दा कालोसूचीमा पर्ने उद्योगी व्यवसायी ३ गुणाले बढे, कर्जा नउठ्दा तनावमा बैंकका कर्मचारी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज उच्च रुपमा बढाएसँगै कालोसूचीमा पर्ने उद्योगी व्यवसायीको संख्या बढेको छ । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ४ महिनामा मात्रै ७ हजार ३७० जना ऋणीहरु कालोसूचीमा परिसकेका छन् ।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ४ महिनामा २ हजार ५८४ जना ऋणीहरु कालोसूचीमा परेका थिए । तर चालू आर्थिक वर्षको पहिलो ४ महिनामा भने यो संख्या ३ गुणाले बढ्न पुगेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको बढ्दो वेसरेट तथा सोही अनुरुप ७ प्रतिशतसम्म प्रिमियम थप गरेर ब्याज लिन थालेपछि उद्योगी व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । ‘पहिलो बैंकको वसेरेट कम थियो भने प्रिमियमपनि ०.५ प्रतिशतदेखि बढीमा २ प्रतिशतसम्म थियो,’ एक व्यवसायीले भने, ‘तर अहिले बैंकको वेसरेटनै ५० प्रतिशतभन्दा माथि बढेको छ भने त्यसमा बैंकले आफुखुशी ७ प्रतिशतसम्म प्रिमियम थप गरेर म्यासेज गर्न थालेका छन् ।’

उद्योगी व्यवसायी तथा अन्य व्यक्तिले आफ्नो आय क्षमताको आधारमा कर्जा लिने गरेको तर पछिल्लो समय आम्दानी घट्ने कर्जाको ब्याज उच्च रुपमा बढ्दा त्यसरी लिएको कर्जाको किस्ता र ब्याज तिर्न नसक्दा कालोसूचीमा पर्ने क्रम बढेको हो । यदि बैंक ब्याजदर नघट्ने र अहिलेको जस्तै लामो समयसम्म आर्थिक क्रियाकलाप ठप्प हुने हो भने कालो सूचीमा पर्ने ऋणीको संख्या अझै उच्च रुपमा बढ्ने सम्बद्ध उद्योगी व्यवसायीहरुनै बताउँछन् ।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार २०७८ असार मसान्तसम्म कालोसूचीमा पर्नेको संख्या १५ हजार २२२ जना थिए । तर २०७९ कात्तिक २७ गतेसम्म सो संख्या बढेर ३६ हजार २२१ जना पुगेका छन् । सो अबधिमा पनि धेरै जना ऋणीहरु कालोसूचीमा परेर कर्जा भुक्तानी गरेर उक्त सूचीबाट हटेको केन्द्रले जानकारी दिएको छ ।

पछिल्लो समय डिफल्डरको संख्या बढेसँगै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी बढी तनावमा देखिन थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । बैंक उच्च व्यवस्थापनले जसरी पनि कर्जा उठाउन टार्गेट दिने र ऋणीले भार बढी भएको भन्दै किस्ता तिर्न छाडेपछि बैंक वित्त संस्थाका कर्मचारीहरु दोहोरो मारमा पर्ने थालेका हुन् । साथै अहिले कतिपय बैंक तथा वित्त संस्थाका कर्मचारीहरुले कर्जा उठाउन नसक्दा व्यवस्थापनको दाबाब थेग्न नसकेर राजिनामा दिन थालेको समेत उक्त स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL