Logo

सहुलियतपुर्ण कर्जा प्रवाह घट्यो, ऋणी बढेपनि दुई महिनामा ६६ करोडको गिरावट

सहुलियतपुर्ण कर्जा प्रवाह घट्यो, ऋणी बढेपनि दुई महिनामा ६६ करोडको गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामा सहुलियतपुर्ण कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह घटेको हो ।

तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको असार मसान्तसम्म २ खर्ब १३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो । तर, चालु आवको भदौसम्म आइपुग्दा यस्तो कर्जा ६६ करोड २ लाख रुपैयाँले घटेर २ अर्ब १३ अर्ब २२ करोड ९० लाख बाँकी रहेको छ ।

यता यस्तो कर्जा लिने सेवाग्राही भने २ महिनाको अवधिमै ५ सय ३३ जना थपिएका छन् । गत असार मसान्तसम्म यस्तो कर्जा लिने सेवाग्राहीको संख्या १ लाख ४७ हजार १ सय ९३ थियो । तर, यो संख्या चालु आवको भदौ मसान्तसम्म बढेर १ लाख ४७ हजार ९ सय २६ पुगेको हो । यसरी कर्जा लिने सेवाग्राहीको संख्या बढेपनि साउन र भदौको महिनामै महिला उद्यमशिल कर्जा मात्रै ८९ करोड ७० लाख रुपैयाँले घटेको छ ।

यो शीर्षकको कर्जा सहुलियतपुर्ण कर्जामध्ये सबैभन्दा बढी प्रवाह हुने दोस्रो स्थानको कर्जा हो । पहिलो स्थानमा भने व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जा । नेपाल राष्ट्र बैंकका अनुसार यो शीर्षकको कर्जा प्रवाह भने साउन र भदौ महिनामा बढेको छ । गत असार मसान्तसम्म यस्तो प्रकृतिको १ खर्ब ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको कर्जा भएकामा साउन र भदौमा ४३ करोड ८० लाख रुपैयाँले बढ्दै १ खर्ब ४९ अर्ब ६७ करोड १८ लाख रुपैयाँ पुगेको हो ।

यता महिला उद्यमशील कर्जा भने पछिल्लो २ महिनामा घटेपनि हालसम्म ७० अर्ब ९ करोड ९२ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ । गत असार मसान्तसम्म यस्तो कर्जा ७० अर्ब ९९ करोड ६१ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ । यस्तै यस अवधिमा कपडा उद्योगीले पाउने सहुलियतपुर्ण कर्जा पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले २०७५ सालमा ‘सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागु गर्दै यस्ता कर्जाहरु प्रवाह गर्ने नीति अघि सारेको थियो । त्यसपश्चात कपडा उद्योगीको मागअनुसार २०७६ मा पुनः कार्यविधि संशोधन गर्दै कपडा उद्यागीलाई पनि यस्तो कर्जा पाउने उद्योगीको रुपमा समेटिएको थियो ।

त्यसबेलादेखि कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कपडा उद्योगीलाई कर्जा प्रवाह गर्न थालेका थिए । त्यसयता भदौसम्म यस्तो शीर्षकमा २ अर्ब २२ करोड २० लाख रुपैयाँ प्रवाह भईसकेको छ । तर, यो रकम गत असार मसान्तसम्मको तुलनामा १३ करोड ६० लाख रुपैयाँले कम हो । गत असार मसान्तसम्म २ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो ।

गत असार मसान्तयता शिक्षित युवा स्वरोजगार कर्जा २ करोड ५० लाख, स्वदेश फर्किएका युवाका लागि परियोजनामा आधारिक कर्जा २ करोड १० लाख र दलित समुदाय व्यवसाय विकास कर्जा १ करोड ९० लाख रुपैयाँले घटिसकेको छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता संकुचनको प्रत्यक्ष असर सहुलियतपुर्ण कर्जाको प्रवाहमासमेत देखिएको देखिन्छ । यसरी पछिल्लो २ महिनाको अवधिमा धेरै शीर्षकको कर्जा प्रवाहमा गिरावट आएपनि युवा स्वरोजगार कर्जामा भने ३० लाख रुपैयाँको वृद्धि देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो शीर्षकमा गत असार मसान्तसम्म ८९ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौसम्म आइपुग्दा यस्तो कर्जा १ करोड १७ लाख रुपैयाँ प्रवाह भएको छ ।

यस्तो कर्जामा कर्जाको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने राष्ट्र बैंकले जारी गरेको कार्यविधिमा उल्लेख छ । विभिन्न १० शीर्षकमा दिईने यस्तो कर्जाको बैंकले लिने व्याजमा पनि ५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था छ । यदि बैंकले कुनै कर्जाको ८ प्रतिशत व्याज तोकेको खण्डमा ऋणीले ३ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ । जसका कारण पछिल्लो समय यो कर्जामा ऋणीहरुको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL