Logo

मुलुकको चालु खाता ५१२ अर्ब रुपैयाँ घाटामा, विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घट्यो

मुलुकको चालु खाता ५१२ अर्ब रुपैयाँ घाटामा, विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घट्यो



काठमाडौं । नेपालको चालु खाता रु.५१२ अर्ब ७१ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८-७९ को नौ महिनाको तथ्याङ्कमा आधारित) मा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२१० अर्ब ५१ करोडले घाटामा रहेको थियो ।

laxmi

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई रु.७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ५१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१२ अर्ब ३५ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति

२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा रु.११६७ अर्ब ९२ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई रु.१०२१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई रु.१४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक

आर्थिक वर्ष २०७८-७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ चैत्र मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL