Logo

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु, ८० जनाले रोजगारी पाउने

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु, ८० जनाले रोजगारी पाउने



काठमाडौँ । मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।

laxmi

भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान पानबारी स्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ ।

उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेली अतिथिका रुपमा उपस्थित थिए । फोहोरलाई उर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष शाहले बताए ।

सिइओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई उर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत मद्दत मिल्ने बताएकी छिन् । दीर्घकालिन महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सँधै तत्पर रहेको उनले बताईन् ।

दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै,यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने पनि खुन्जेलीले बताईन् ।

यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार उत्पादित जैविक ग्यासलाई शुद्दीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीन पांग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ । धरानमा रहेका करिब ३ सय वटा टेम्पोहरुमा सिलिण्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ ।

यहाँ बाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ । जसबाट हालको बजार मुल्यमा करिब १० करोड रुपैंयाको आयात कम हुने विश्वास लिइएको छ । विश्वका प्रायजसो मुलुकमा ठूलो मात्रामा प्रयोग भइरहेको सिएनजी ग्यास पेट्रोल भन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्री समेत रहेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० वटा तीन पांग्रे टेम्पोलाई सिएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL