Logo

राष्ट्र बैंकका प्रवक्ता भन्छन–हामीले निक्षेपको ब्याजदर तोकेका छैनौं तर एकल अंकमा राख्न भनेका छौं, कर्जाको ब्याज बढाउन नपाईने

राष्ट्र बैंकका प्रवक्ता भन्छन–हामीले निक्षेपको ब्याजदर तोकेका छैनौं तर एकल अंकमा राख्न भनेका छौं, कर्जाको ब्याज बढाउन नपाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर नतोकेको बताएको छ । आफुहरुले बैंकको ब्याजदर यतिनै अंकमा हुनुपर्छ भनेर निर्धारण नगरेको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक एवं प्रवक्ता देबकुमार ढकालले जानकारी दिए । ‘अहिले हाम्रो सरोकार बैंक तथा वित्तीय संस्थाले लिने निक्षेपको ब्याजदर एकल अंकमा हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर कुन बर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेपमा कति प्रतिशत ब्याज दिने भनेर राष्ट्र बैंकले तोकेको छैन ।’

laxmi

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आफुखुशी निक्षेपको ब्याजदरका साथै कर्जाको ब्याजदर समेत बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार विज्ञप्ती नै जारी गरेर हस्तक्षेप गरेको थियो । तर त्यसरी निक्षेप उठाउन दिँदा पनि ब्याजदर उच्च हुने देखिएपछि निक्षेपको एकल अंकमा राख्न सुझाएको हो ।

यसैगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज समेत आफुखुशी बढाउन थालेपछि राष्ट्र बैंकले कारबाहीको दायरामा ल्याउने भएको छ । बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भई निक्षेपको ब्याज बढेको भन्दै यसअघि प्रबाह गरिएका कर्जाको समेत धमाधम ब्याज बढाउन थालेका छन् । तर, यदि कुनै पनि बैंक तथा वित्तीय संस्थाले कर्जा नविकरणको समय नआई ऋणीमाथी थप ब्याज वृद्धि गरेको भए कारबाहीको दायरामा ल्याइने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

‘राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले कर्जा अबधिभर अर्थात नविकरणको समय नआई प्रिमियम परिवर्तन तथा वा थप गर्न पाउँदैनन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यदि कुनै बैंक वित्तीय संस्थाले कर्जा नविनकरण अवधि नभई बीचमै कर्जाको ब्याजदर वृद्धि गरेको प्रमाण दिएमा राष्ट्र बैंकले कारबाहीको दायरामा ल्याउने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL