Logo

७ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकका लगानीकर्ताले कति पाउँदैछन् ?

७ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकका लगानीकर्ताले कति पाउँदैछन् ?



काठमाडौं । हालसम्म ७ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

बिहीबार बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।

लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले सेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दसैँ पछाडी मात्र लाभांश पाउने भएका छन् ।

विगतका वर्षमा केही वाणिज्य बैंकले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

कुन बैंकको कति ?

गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ दशमलव ८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ ।

यस्तैगरी, कुमारी बैंकले सेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

दसैँमा लाभांश नपाउने

बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि सेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दशैं अघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो । ‘यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो’, उनले भने, ‘नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्याे । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष दसैँ आगाडि सेयरधनीलाई लाभांश दिन सकिएन ।’ दिपावली आसपासमा सेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ ।

हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैंकका शेयरधनीले लाभांश पाउनेछन् ।

विकास बैंकमा कामना पहिलो

सात वाणिज्य बैंकले लाभांश घोषणा गरेतापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ९७ प्रतिशत नगद लाभांशसमेत गरी १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश गत ४ वर्षयताकै उच्च हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL