Logo

बैंकर्स भन्छन्- सेयर बजार बढ्दा क्यापिटल फ्लाइट भयो, नेपाल भित्रने रेमिटान्स विदेशमै रोकियो

बैंकर्स भन्छन्- सेयर बजार बढ्दा क्यापिटल फ्लाइट भयो, नेपाल भित्रने रेमिटान्स विदेशमै रोकियो



काठमाडौं । सेयर बजार उच्च रुपमा घटदा क्यापिटल फ्लाइट भएको बैंकरहरुको अनुमान रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ सय विन्दुबाट बढेर ३२ सय विन्दुपार गर्दासम्म लगानीकर्ताले उच्च नाफा आर्जन गरेको र त्यसरी आर्जन गरेको रकम हाल बाहिरिएको बैंकर्सहरुले बताएका छन् ।

सेयर बजार बढ्दा सोहीअनुरुप लगानीकर्ताको पनि आम्दानी बढेको र त्यसरी आर्जित रकम अहिले विदेश पठाउने क्रम बढेको जानकारीमा आएको बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘उदाहरणका लागि १ करोड रुपैयाँ हुने लगानीकर्ताको सेयर बजार बढ्दा भ्यालु बढेर ४ करोड रुपैयाँ पुगेको छ,’ उनले भने, ‘लगानीकर्ताले बढ्दो मूल्यमा सेयर बिक्री गरी त्यसरी आर्जित रकम कतिपय लगानीकर्ताले विदेशमा भएका आफ्ना छोराछोरीलाई पठाउने उतै घर किन्ने जस्ता कार्यमा खर्च गरेको अनुमान छ ।’

अहिले आयआर्जन राम्रो हुने धेरैजसो नेपालीले आफ्नो छोराछोरीलाई पढ्नका लागि युरोप अमेरिका पठाएका छन् । लगानीकर्ताले उनै छोराछोरीका नाममा घर किन्न तथा अन्य प्रयोजनका लािग नेपालबाट पैसा पठाउने क्रम बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । जसबाट ठूलो मात्रामा क्यापिटल फ्लाइट हुने गरेको खुलासा भएको हो ।

सेयर बजार बढेसँगै देशमा हुण्डी कारोबारसमेत मौलाएको उनको तर्क थियो । ‘कुनै पनि नेपालीले नेपालबाट लगानीका लागि विदेश पैसा लैजान पाउँदैनन्,’ उनले भने, ‘तसर्थ अहिले त्यसरी पैसा लैजाने माध्ययम हुण्डी बनेको हाम्रो अनुमान छ ।’ साथै पछिल्लो समय नेपाल भित्रने रेमिटान्स हुण्डी कारोबारीले विदेशमै होल्ड गर्ने र नेपालबाटै सम्बन्धित कामदारलाई आफन्तहरुलाई दिने क्रम बढेको छ । जसका कारण साउन महिना नेपाल भित्रने रेमिटान्समा १८.१ प्रतिशतले गिरावट आएको छ । लामो समयपश्चात नेपाल भित्रने रेमिटान्समा यति ठूलो गिरावट आएको पहिलो पटक हो । नेपाल भित्रने रेमिटान्स बढ्ने सिजनमै रेमिटान्समा गिरावट आउनुमा हुण्डी कारोबार बढ्नु प्रमुख कारण रहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी पछिल्लो समय आयात बढ्नुमा पनि सेयर बजार मुख्य कारण रहेको दाहालको तर्क रहेको छ । सेयर बजारबाट उच्च आम्दानी गरेका लगानीकर्ताले महंगा गाडी खरिद गर्ने, इलोक्ट्रोनिक सामान किन्ने क्रम बढेको दाहाल बताउँछन् । जसका कारण अहिले बजारमा गाडिको माग उच्च रहेको छ भने आयातकर्ताले समेत माग अनुरुप डेलिभरी दिन सकेका छैनन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत बर्षको साउन महिनामा गाडि तथा स्पेयर पार्टस आयातमा ३३ प्रतिशतले गिरावट आएकोमा यस वर्षको साउनमा त्यस्तो आयात ११७ प्रतिशतले बढेको छ । यसैगरी टायर तथा ट्युव आयातसमेत ५६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सेयर बजार बढ्दा धेरैजसो नेपालीको आयस्रोत बढेपनि त्यसले उत्तिकै मात्रामा क्यापिटल फ्लाइटको जोखिम बढाएको सम्बद्ध सरोकारवलाहरु बताउँछन् । जसका कारण अहिले बजार लगानी योग्य रकम (तरलता) अभाव हुनुका साथै विदेशी मुद्रा संचितीमा गिरावट तथा भुक्तानी सन्तुलनसमेत घाटामा गएको छ । पछिल्लो समय त्यसरी क्यापिटल फ्लाईट भएको निष्कर्षकै आधारमा राष्ट्र बैंकले अमेरिकी डलर तथा भारतीय मुद्रा सटहीमा कडाई गरेको छ ।

यसअघि विदेश जाने व्यक्तिले १ हजार ५ सय अमेरिकी डलर सम्म नगदमा सटती सुविधा पाउँदै आएकोमा अहिले त्यस्तो सुविधा २ सय डलरमा झारिदिएको छ । साथै गृह मन्त्रालयले पनि भिजिट भिसामा जाने नेपालीले बोक्नुपर्ने न्यूनतम १ हजार डलरको सीमा घटाएर देश अनुसार २५० डलरदेखि ५ सय डलरसम्मको सीमामा झारिदिएको छ ।

यसैगरी पछिल्लो समय नेप्सबाट बाहिरिएको रकम बम्बे स्टक एक्सचेञ्ज (बीएससी सेन्सेक्स)मा समेत प्रवेश भएको सम्बद्ध सेयर लगानीकर्ताहरु बताउँछन् । ‘लामो समयदेखि नेपाली सेयर बजारमा दोहोरो नागरिकताधारी (भारत र नेपाल दुबैको नागरिकता भएका) व्यक्तिको संलग्नता हुँदै आएकोमा पछिल्लो समय अझै हावी हुने क्रम बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । जसका कारण अहिले सेयर बजारमा गिरावट आउनुका साथै कारोबार समेत उच्च रुपमा घटेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

तरलता अभावकै कारण अहिले ९ ओटा वाणिज्य बैंकको सिडी रेसियो राष्ट्र बैंकले तोकिएको सीमा नाघेका कारण कर्जा दिन नसक्ने अवस्थामा छन् भने अन्य वाणिज्य बैंकको पनि कर्जा निक्षेपको अनुपात ९० प्रतिशत हाराहारीमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL