Logo

ग्लोबल आइएमई बैंक र अंकुर नेपालबीच सम्झौता, विदेशबाट फर्केका श्रमिकलाई सहुलियत कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक र अंकुर नेपालबीच सम्झौता, विदेशबाट फर्केका श्रमिकलाई सहुलियत कर्जा प्रवाह गर्ने



काठमाडौं । ग्लोबल आइएमई बैंक र अंकुर नेपालबीच सम्झौता भएको छ । बैंकले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने गरी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका हुन् ।

कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्घिको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा संचालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको हो ।

यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभव सहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पूँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्नेछ । यसका लागि बैंकले विभिन्न बैंकिङ सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्नेछ ।

यसका साथै, सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट ब्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL