Logo

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा सुरु, आर्थिक कारोबार सहज हुने विश्वास

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा सुरु, आर्थिक कारोबार सहज हुने विश्वास



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबारदेखि क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउंदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङ तर्फ बैंक अगाडि बढिरहेकोे बताए ।

उनले नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने जानकारी दिए । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउंदा खुसी लागेको बताउंदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरेका छन् ।

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजार देखि पाँच लाख रुपैंयासम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।

डिजिटल बैंकिङ विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL