Logo

माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजबाट बिक्रिमा, वार्षिक साढे ८ प्रतिशत ब्याजदर

माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजबाट बिक्रिमा, वार्षिक साढे ८ प्रतिशत ब्याजदर



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र आजबाट बिक्रिमा ल्याएको छ ।  बैंकले  ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ऋणपत्र खरिदका लागि छिटोमा साउन ४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । 

उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन १७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL