Logo

पाण्डे र थापा समुहका कारण क्यापिटल मर्चेन्टका निक्षेपकर्ताको ७४ करोड डुब्दै, संचालन गर्न नसके छाड्न राष्ट्र बैंकको निर्देशन

पाण्डे र थापा समुहका कारण क्यापिटल मर्चेन्टका निक्षेपकर्ताको ७४ करोड डुब्दै, संचालन गर्न नसके छाड्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । समस्याग्रस्त क्यापिटल मर्चेन्ट एण्ड फाइनान्सका निक्षेपकर्ताको ठूलो रकम डुब्ने खतरा बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघका रोजगारदाता परिषद्का सहसभापति प्रबलजङ्ग पाण्डे, तत्कालीन गैर आवासीय नेपाली चिरञ्जीवी थापा लगायतका नयाँ लगानीकर्ता समुहका कारण क्यापिटल मर्चेन्टका सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको गरी  ७४ करोड ६४ लाख रुपैयाँ डुब्ने खतरा बढेको हो । जसमध्ये २ करोड १४ लाख रुपैयाँ सर्वसाधारण निक्षेपकर्ताको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

समस्याग्रस्त रहेको क्यापिटल मर्चेन्टलाई संचालन गर्ने भन्दै २०७५ असोजमा पाण्डे, थापालगायतका नयाँ लगानीकर्ता समुहले संस्थापकतर्फका ७० प्रतिशत संस्थापक सेयर खरिद गरेका थिए । उक्त समुहले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाललाई आफ्नो पक्षमा पार्दै एकदमै सस्तो मूल्यमा क्यापिटल मर्चेन्टको सेयर खरिद गरेका थिए । तर उक्त समुहले कम्पनी खरिद गरेर संचालन गर्नुभन्दा पनि उक्त कम्पनीको सम्पती लिलामी गर्ने र आर्जित रकम आफैले चलाउने मनसायबाट अघि बढेपछि क्यापिटल मर्चेन्टमा ठूलो रकम राखेका संस्थागत निक्षेपकर्ता डुब्ने खतरा उच्च भएको हो । धेरैजसो व्यक्तिगत निक्षेपकर्ताको रकम फिर्ता गरेपनि हाल रहेका लगानीकर्ताले संस्थागत निक्षेपकर्ताको रकम भने फिर्ता गर्न नसक्ने अवस्थामा छ । 

तात्कालिक समयमा पहुँचको भरमा पाण्डे, थापालगायतका नयाँ लगानीकर्ता समुहले क्यापिटल मर्चेन्टको उक्त सेयर प्रतिकित्ता २२ रुपैयाँको दरले उठाएका थिए । तत्कालीन समयमा ६ महिनाभित्र संचालन गर्नेगरी पहुँचको भरमा उक्त कम्पनीलाई कौडीको मूल्य उठाएपनि हालसम्म संचालन गर्न सकेका छैनन् । नयाँ लगानीकर्ता समुहले ६ महिना भित्र संचालन गर्ने गरी लिएको उक्त कम्पनी ४ वर्ष पुग्न लागिसक्दा पनि लगानीको लागि चुक्ता पूँजी समेत संकलन गर्न सकेका छैनन् । साथै उनीहरूले आफैले चुक्ता पूँजीको जोहो गरेर कम्पनी संचालन गर्न सक्ने अवस्था समेत रहेको छैन । 

हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ रहेको छ । तर सो समुहले नेप्सेमा भएको कारोबारको आधारमै पनि २० करोड ५७ लाख रुपैयाँमा खरिद गरेका थिए । तर उक्त समुहले नेप्सेमा भएको कारोबारको आधारमा पनि रकम जुटाउन सकेको छैन । तत्कालीन समयमा सो समुहले १३ करोड रुपैयाँ मात्र लगानी गरेको थियो । कम्पनीको लगानी र धितोको आधारमा सबै रकम असुली गर्न सकिने देखिएपनि नयाँ प्रवेश गरेका लगानीकर्ता समुहले तत्कालै केही धितो आपसी मिलेमतोमा लिलामी प्रक्रिया अघि बढाएका थिए । तर राष्ट्र बैंकको अब्जेक्सन पछि उक्त लिलामी प्रक्रिया रोकिएका थियो । 

सो समुहले तत्कालीन समयमा कम्पनीको कर्जा उठौती गरी व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताको रकम फिर्ता गर्ने दायित्व सहित कम्पनीको सम्पूर्ण संस्थापक सेयर खरिद गरेको थियो । तर, कम्पनी खरिद गरेपश्चात् ऋणीको कतिपय धितो आपसी मिलेमतोमा लिलामी प्रक्रिया अघि बढाएपछि ऋणीहरू सोको विरोधमा उत्रिएका थिए । तर नयाँ लगानीकर्ता समुहले अरुलाई पनि संचालन गर्न नदिने आफूले पनि संचालन गर्न नसक्ने अवस्था भएपछि संस्थापक निक्षेपकर्ताको निक्षेप भने डुब्ने खतरा बढेको हो । 

केही समय अघि पनि क्यापिटल मर्चेन्टले खराब ऋणीको सम्पती लिलामी गरेर असुली गर्ने भन्दै पत्रिकामा सूचना प्रकाशित गरेको थियो । यस अघि पनि नयाँ प्रवेश गरेका लगानीकर्ताले संस्था संचालनका लागि रकम जुटाउन नसकी कम्पनीको धितोमात्र बिक्री गर्ने प्रक्रिया अघि बढाएको थियो । अहिले पनि आफूले लगानी थप्नुको सट्टा संस्थाको सम्पती मात्रै लिलामी गर्न सूचना निकालेपछि राष्ट्र बैंकले थप एक्सन लिएको हो । 

यसैगरी निक्षेपकर्ताहरूले पनि पटक पटक ताकेता गर्दा समेत आफूले जम्मा गरेको रकम फिर्ता पाउन नसकेको गुनासो गरेका छन् । ‘हामीले संस्था समस्याग्रस्त भएसँगै राष्ट्र बैंकसँग सल्लाह गरेर आफ्नो डुवेको निक्षेप उठाउन प्रक्रिया अघि बढाएका थियौं,’ एक संस्थागत निक्षेपकर्ताले भने, ‘नयाँ समुहको प्रवेशसँगै उनीहरूले तत्कालै हाम्रो पैसा फिर्ता गर्छौैं भनेका थिए तर ४ वर्ष भैसक्यो न संस्था संचालन गरे न हाम्रो निक्षेप फिर्ता गर्छन ।’ यस विषयमा राष्ट्र बैंकले तदारुपकता नदेखाउँदा आफुहरु मर्कामा परेको समेत संस्थापक निक्षेपकर्ताहरुको गुनासो रहेको छ । 

नयाँ लगानीकर्ताले लामो समयसम्म पनि संस्था संचालन गर्न नसकेपछि केही समय अघि मात्रै पत्र काटेर मर्जर जान वा नयाँ लगानीकर्ता भित्र्याएर संचालनमा ल्याउन निर्देशन दिइएको नेपाल राष्ट्र बैंक वित्तीय संस्था नियमन विभागका प्रमुख पिताम्बर भण्डारीले बताए । ‘उक्त संस्था लामो समयदेखि संचालमा ल्याउन नसकेपछि राष्ट्र बैंकले नयाँ लगानीकर्तालाई पनि केही समयअधि मात्रै अब लामो समय होल्ड गर्न नसक्ने भन्दै कि मर्जरमा गएर संचालनमा ल्याउनु कि छाड्नु भनेर निर्देशन दिएका छौं,’ उनले भने, ‘तत्कालिन समयमा उक्त सस्थालाई स्वास्थ्य रुपमा संचालनमा ल्याउन नयाँ लगानीकर्तालाई जिम्मा लगाईएको थियो तर अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।’

यसैगरी यस अघि राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादूर मिश्रले २०७५ सालमा भित्रिएका नयाँ लगानीकर्ता समुहले संस्था संचालन गर्न नसक्ने अवस्था देखिएपछि कि तत्काल मर्जर जाने वा नयाँ लगानीकर्ता भित्र्याएर संस्था संचालनमा ल्याउने विषयमा छलफल अघि बढाइएको बताएका थिए । उक्त संस्था संचालन गर्ने सम्बन्धमा क्यापिटल मर्चेण्टका व्यवस्थापनलाई बोलाएर छलफल गरेको तर उनीहरूले संचालनगर्ने स्पष्ट खाका समेत प्रस्तुत गर्न नसकेको उनको भनाई थियो । 

नयाँ लगानीकर्ताले संस्था खरिद गरेपश्चात् संचालन समितिको अध्यक्षमा चिरञ्जीवी थापा चयन भएका थिए । तर संस्था चल्न सक्ने अवस्था नदेखिएपछि उनले पनि अध्यक्ष पदबाट राजिनामा दिएका थिए । त्यसपश्चात २०७७ भदौं २८ गते निरञ्जन सिंह वस्नेतको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको थियो । जसको सदस्यहरुमा जगत खनाल, आनन्दराज रेग्मी, रञ्जन रायमाझी र कैलाश भट्ट रहेका छन् । उक्त कम्पनीमा सबैभन्दा बढी लगानी प्रवलजंग पाण्डेलगायतको समुहको रहेको छ । त्यसैगरी म्यानपावर व्यवसायी तिलक रानाभाट, गुरु तिमिल्सिना, होमप्रसाद निरौला लगायतको पनि लगानी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL