Logo

प्याजको मूल्यमा कालोबजारी, आफुखुसी मूल्य बढाएर प्याज बेच्ने व्यापारी धमाधम पक्राउ गर्दै सरकार

प्याजको मूल्यमा कालोबजारी, आफुखुसी मूल्य बढाएर प्याज बेच्ने व्यापारी धमाधम पक्राउ गर्दै सरकार



काठमाडौं । सोमबार भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्धको निर्णय गरेपछि नेपालमा २ दिनमै प्याजको मूल्य ९८ प्रतिशतले बढेको छ । सोमबार प्रतिकिलो ६० रुपैयाँमा कारोबार भईरहेको प्याजको मूल्य भारत सरकारले गरेको निर्यात प्रतिबन्धको निर्णयसँगै २ दिनमै ९८ प्रतिशतले बढेर प्रतिकिलो १ सय १९ रुपैयाँ पुगेको हो ।

laxmi

तर, बजारमा भारत सरकारले निर्णय गर्नुपूर्व नै आयात गरिएको प्याज अर्थात स्टकमा रहेको प्याजको मूल्य एकाएक बढ्दा उपभोक्ता भने मारमा परेका छन् । यसरी व्यवसायीले नै आफुखुसी प्याजको मूल्य तोकेर कारोबार गर्दा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमेत निरिह बनेको छ । यसरी व्यवसायीले नै आफुखुसी मूल्य अत्याधिक बढाएर बेचेमा उनीहरु नै कारबाहीको भागेदार हुनुपर्ने समितिका उप निर्देशक विनय श्रेष्ठ बताउँछन् ।

‘‘तरकारीको मूल्य समितिले तोक्ने होईन यो त बजारको फ्लो हेरेर व्यवसायीले नै तोक्छन्,’ उनले भने, ‘तर व्यवसायीलाई दिएको अधिकार हनन हुनेगरी नै तरकारीको मूल्य बढाउन थालियो भने त कारबाहीको भागेदारी हुनुपर्छ ।’ उनले यस्तो भएको अवस्थामा सम्बन्धित निकायले अनुगमन गर्ने र उक्त अनुगमनका लागि समितिले उचित सहयोग गरिदिने बताएका छन् ।

यस्तै आजै बिहान काठमाडौं महानगरपालिकाको कृषि विभागको संयोजकत्वमा खटिएको एक टोलीले कालीमाटी तरकारी बजार र बल्खु तरकारी बजारमा अनुगमन गरेको छ । जसमा टोलीले कालिमाटीबाट २ जना र बल्खु तरकारी बजारबाट २ जनालाई कालोबजारी गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई हाल महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको अनुगमन टोलीका सहभागी तथा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधवप्रसाद तिमिल्सिनाले बताए ।

उनका अनुसार व्यवसायीले स्टकमा भएको प्याजको समेत मूल्य अप्रत्याशित रुपमा बढाएर विक्री गरेको पाईएकाले पक्राउ गरिएको हो । उनीहरुले प्रतिकिलो ४८ रुपैयाँमा किनेको प्याजलाई प्रतिकिलो १ सय २० रुपैयाँले बेचेको उनको आरोप छ । ‘बजारमा प्रशस्तै मात्रामा प्याज भएपनि स्टक लुकाएर अभाव सिर्जना गराई मूल्य बढाउने गिरोहको अनुगमन गरिँदैछ,’ उनले भने, ‘भित्र स्टकमा भएको सामग्रीको पनि व्यापक रुपमा मूल्य असुल्ने काम भईरहेको छ ।’

उनले सरकारकै कारण पनि प्याजको मूल्यमा उच्च वृद्धि भएको बताए । सरकारले पछिल्लो २ दिनमा पनि प्याजको समर्थन मूल्य यो हो या होईन भनेर कम्तिमा हेर्नसम्म पनि नभ्याएको उनको आरोप छ । तर, पछिल्लो २ दिनमा प्याजको मूल्यलाई लिएर धेरै समाचारहरु, सूचनाहरु आईसक्दा पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पनि यसमा ध्यान नदिईएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL