Logo

उद्योगीबाट उखु किसानको पैसा असुल गर्न उर्जामन्त्रालय पनि एक्सनमा, उद्योगले समन्वय गर्दै

उद्योगीबाट उखु किसानको पैसा असुल गर्न उर्जामन्त्रालय पनि एक्सनमा, उद्योगले समन्वय गर्दै



काठमाडौं । चिनी उद्योगीबाट उखु किसानको बाँकी भुक्तानीमा उर्जा मन्त्रालयले पनि सघाउने भएको छ । उखु किसानको मूल्य भुक्तान गर्न उर्जामन्त्रालयको समन्वयमा समेत बैठक बस्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणमार्फत समेत उखु किसानको पैसा असुल गर्न सकिने भएपछि उद्योग मन्त्रालयले उर्जामन्त्रालयको समन्वयमा निष्कर्ष निकाल्ने प्रयास गरेको हो । चिनी उद्योगीले उत्पादन गरेको विजुली प्राधिकरणले किनेको छ, उक्त विजुलीको रकममार्फत किसानको पैसा फिर्ता गर्नेगरी समन्वय गरिरहेको मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए ।

उनका अनुसार विभिन्न ३ उद्योगीको समस्या ठूलो छ । केही उद्योगीले पुरै रकम बुझाएको, केही उद्योगीले आंशिक रकम बुझाएर अन्य रकम केही समयभित्रै बुझाउने गरी उखु किसानसँग सम्झौता गरेका छन् । तर ठूला अर्थात किसानलाई धेरै रकम तिर्न बाँकी ईन्दिरा, अन्नपूर्ण र लुम्बिनी सुगर मिलले भने किसानको धेरै पैसा बुझाउन बाँकी छ ।

उक्त ३ उद्योगमार्फत किसानको पैसा असुलमा सहयोग र समन्वय गर्न केहीदिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय सर्लाही र उर्जा मन्त्रालयमा पत्र पठाएको उनको भनाई छ । यस्तै श्रीराम सुगरमिलले पनि आफ्नो जग्गा बेचेर किसानको पैसा भुक्तानी गर्ने जानकारी गराएपछि त्यसको सहजीकरणका लागि भूमिसुधार मन्त्रालयमा समेत पत्र पठाईएको सहसचिव घिमिरेले बिजखबरलाई जानकारी दिए ।

उर्जा मन्त्रालयले बैठक बोलाउँदै

यता उर्जा मन्त्रालयले समेत चिनी उद्योगीले उखु किसानलाई बुझाउनुपर्ने बक्यौतामा सहजीकरण गर्न नेपाल विद्युत प्राधिकरणसँग बैठक बस्ने भएको छ । चिनी उद्योगीको सहजीकरण र उखु किसानको बक्यौता भुक्तानीको विषयमा बैठक बस्नेगरी प्राधिकरणमा जानकारी पठाईएको मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले चिनी उद्योगीहरुको विजुली किनेको छ । सोहीमार्फत चिनी उद्योगीका लागि सहयोग र उखु किसानको बक्यौता भुक्तानी कसरी गर्न सकिन्छ भन्नेबारे बैठक बस्ने तयारी भएको उनले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले चिनी उद्योगहरुबाट उत्पादित विजुली ८ रुपैयाँ ४० पैसामा पिपीए गरेको छ । सोही अनुसार हाल विभिन्न १२ ओटा चिनी उद्योगले करिव ६० देखि ७० मेगावाट विजुली उत्पादन गरिरहेका छन ।

उद्योग मन्त्रालयले सम्पर्कमा नआएको लुम्बिनी सुगर मिललाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्र काटेको थियो । हाल अन्नपूर्ण सुगर मिलले किसानलाई ४० करोड रुपैयाँ बुझाउनु छ । तर हालसम्म ३ करोड ९० लाख रुपैयाँ मात्रै बुझाएकाले सबै रकम बुझाउन मन्त्रालयले ताकेता गर्दै आएको छ ।

ईन्दिरा सुगर मिलले भने किसानलाई ७४ लाख रुपैयाँमात्रै दिएको मन्त्रालयले जानकारी दिएको छ । अन्नपूर्ण र ईन्दिरा सुगर मिलले किसानको धेरै पैसा दिन बाँकी छ । तर केही पैसा मात्रै किसानलाई बुझाएपछि मन्त्रालयले सबै पैसा बुझाउनका लागि ताकेता गर्दै कारोबारसमेत रोक्का गरिसकेको छ ।

कतिपय किसानले विगत ६ बर्षदेखि उखुको पैसा पाएका छैनन । उखु किसानले काठमाडौंमै आएर पैसा भुक्तानीका लागि धर्ना बसेपछि उद्योगीले माघ ७ गतेसम्म पैसा बुझाउने प्रतिवद्धता जनाएका थिए । तर उक्त म्याद सकिएपछि उखु किसानको पैसा असुल गर्न मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL