Logo

जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात, उत्पादनले रेकर्ड तोड्यो

जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात, उत्पादनले रेकर्ड तोड्यो



काठमाडौं । जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।

laxmi

आर्थिक वर्ष २०७४/७५ मा १६ करोड र आव २०७५/७६ मा १७ करोड रुपैयाँ बराबरको स्याउ जिल्ला बाहिर गएको उनले बताए । ‘दुई आवको तुलनामा यस वर्ष स्याउबाट करीब १७ करोड रुपैयाँ आम्दानी बढी भएको छ ।’, उनले भने । पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ ।

जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले ४ देखि ६ लाख बराबर कमाएका छन् । तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब ४ देखि ४ लाख रुपैयाँ कमाएको जानकारी दिए ।

बाह्र हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क पनि विगत दुई वर्षयताकै धेरै छ । जम्मा उत्पादित स्याउको ७० प्रतिशत अर्थात आठ हजार ५ सय ४७ मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको थियो । असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ ।

सोबाट ३४ करोड रुपैयाँ जुम्ला भित्रिएको छ । जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४ सय ३५ हेक्टर छ । त्यसको ३ हजार ७ सय हेक्टर जमीनमा गरिएको स्याउखेतीमध्ये १ हजार ४ सय ४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो । सरदर रुपमा प्रतिकिसानले ८ दशमलव २५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन् । व्यापारीले बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरेका थिए ।

मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । यहाँका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका छन् । मार्सी धान पाकेर दाना झर्ने अवस्था भइसकेर किसानलाई धान काट्न चटारो भएको चन्दननाथ–३ का किसान अम्मर नेपालीले बताए ।
‘अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ, मार्सी चामलको बजारभाउ प्रतिकिलो १ सय २० रुपैयाँ छ’, उनले भने, व्यापारी घरघरमा पुगिसकेका छन । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिममा भित्र्याउने गर्छन् ।

वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हँुदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको चन्दननाथ–६ का किसान जयराज भारतीले बताए । कृषि विकास कार्यालयका अनुसार जुम्लामा कूल २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको छ । विजय रावत/रासस

प्रतिक्रिया दिनुहोस्
MBL