Logo

मकैको सिजनमा पनि घटेन पशु आहारको मूल्य, दानाको मूल्य बढ्दा मर्कामा किसान

मकैको सिजनमा पनि घटेन पशु आहारको मूल्य, दानाको मूल्य बढ्दा मर्कामा किसान



काठमाडौं । जेठ देखि असोजसम्मलाई खासगरी मकैको उत्पादन सिजनको रुपमा लिईन्छ । यो सिजनमा अन्यको तुलनामा बढी नै मकै फल्छ । पछिल्लो समय नेपालमा घट्दै गएको कृषि उपजको उत्पादनले आयातित वस्तुको हिस्सा त बढेको छ नै नेपालमा उत्पादन हुने वस्तुको मूल्य पनि आकाशिएको छ । यसैको पछिल्लो उदाहरण हो पशु आहारको मूल्य बढ्नु । अघिल्ला बर्षहरुमा मकै उत्पादन हुने सिजनमा पशु आहारको मूल्य घट्थ्यो ।

किसानले केही हदसम्म राहतको महसुस गर्थे । यसपाली भने पशु आहार अर्थात दानाका लागि आवश्यक मकैलगायत कच्चा पदार्थको अन्तरराष्ट्रिय मूल्य अत्याधिक बढेपछि नेपालमा मकै उत्पादन हुने सिजनमै झन दानाको मूल्य बढ्ने भएको छ । यसअघिका बर्षहरुमा दाना उद्योगीको मकैको माग केही हदसम्म नेपाली मकैले नै धान्थ्यो । तर, यसपटक मकैको उत्पादनै कम हुँदा मागजति आपुर्ति नभएपछि महंगोमा विदेशबाट मकै मगाएर दाना उत्पादन गर्नुपरेको नेपाल दाना उत्पादक संघका अध्यक्ष रविन पुरी बताउँछन् । उनका अनुसार यस अघिका बर्ष यो सिजनमा दानाको मूल्य केही हदसम्म घट्थ्यो । तर, यसपटक भने मूल्य घट्ने नभएर बढ्ने संकेत देखिईसकेको उनको भनाई छ ।

मकैको आयात र मूल्य बढ्यो

पशु दानाका लागि आवश्यक प्रमुख कच्चा पदार्थ नै मकै हो । नेपालमा भनेजति मकै उत्पादन नहुने भएपछि दाना उत्पादकहरुले विदेशबाट मकै मगाउँदै आएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको १० महिनामा अर्थात गत साउनदेखि बैशाख मसान्तसम्म मात्रै नेपालले १५ अर्ब ३६ करोड ९९ लाख २१ हजार रुपैयाँ बराबरको ४ लाख २५ हजार मेट्रिकटन बढी मकै आयात गरेको छ । यसरी आयात भएको मकै अघिल्लो बर्षहरुको तुलनामा मूल्यका हिसावले पनि उच्च छ । अन्तरराष्ट्रिय बजारको कुरा गर्दा मकैको मूल्य पछिल्लो ६ महिनामा प्रति बुशेल (एक बुशेलमा २५.४० किलो हुन्छ)को मूल्य ४५ प्रतिशत बढीले बढेको छ । यसरी विदेशबाट मकैको मूल्य बढेर आउँदा नेपालमा दानाको मूल्य मकैको सिजन भएपनि नघट्ने दाना उत्पादक संघका अध्यक्ष पुरी बताउँछन् ।

नेपालमा घट्दै गएको मकैको उत्पादनका कारण दाना उत्पादनकर्ताहरु विदेशबाट मकै, भटमासको पीनालगायत कच्चा पदार्थ मगाउनुपर्ने बाध्यतामा छन् । पछिल्लो १० महिनामा नेपालमा १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको भटमासको पीना आयात भएको छ । पशु दानाका लागि आवश्यक उक्त पीना साउनदेखि बैशाख मसान्तसम्म २ लाख २० हजार मेट्रिक टन आयात भएको हो ।

चोकरको मूल्य पनि बढ्यो

गाई भैँसीलाई खुवाउने गहुँको खोस्टा (चोकर)को मूल्य पनि प्रतिबोरा १ देखि ३ सय रुपैयाँसम्मले बढेको किसानहरु बताउँछन् । रुस र युक्रेनको युद्धका कारण विश्वका धेरै देशहरुले आफ्नो देशमा व्यापार सन्तुलन कायम राख्न उपभोग्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाए । जसको सिको नेपालको छिमेकी भारतले पनि गर्याे र गहुँको निकासीमा प्रतिबन्ध लगायो । त्यसको प्रत्यक्ष असर नेपालमा देखिसकेको नेपाल फ्लोर मिल्स एशोसिएसनका निवर्तमान अध्यक्ष माधवलाल श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतले गहुँको निकासी रोकेपछि नेपालमा गहुँजन्य वस्तुहरुको मूल्य बढेको छ । त्यसमा चोकर पनि पर्छ । पशुपालक किसानहरुका लागि आवश्यक चोकरको मूल्यलगायत गहूँको आँटा, मैदालगायतको मूल्य पनि बढिरहेको उनको भनाई छ ।

दानाको खपत पुरानै लयमा फर्किँदै

कोरोना कालमा धेरैजसो किसानहरु कृषि पेशाबाट पलायन भएका थिए । यस्तो हुँदा कोरोना कालमा पशु दानाको खपत पनि करिव ४० प्रतिशत बढीले घटेको थियो । कोरोना अघि नेपालभर दैनिक ३२ देखि ४० मेट्रिक टन दाना खपत हुन्थ्यो । कोरोनाका कारण त्यो खपत ४० प्रतिशत बढीले घटे दाना उद्योग संघका अध्यक्ष पुरीले बिजखबरलाई जानकारी दिए । तर, हाल दानाको खपतले पुरानो लय समात्दै छ । हाल दैनिक २८ देखि ३० मेट्रिकटन दाना नेपालभर खपत हुने गरेको छ ।

नेपाल, भारतलगायतका देशहरुको लागि यो समय मुख्यतः मकै उत्पादनको हो । यो समयमा मकै उल्लेख्य हुने भएपछि यसअघिका बर्षहरुमा यो सिजनमा पशु दानाको मूल्य घट्ने गरेको थियो । तर, नेपालमा भनेबमोजिमको मकै उत्पादन नहुने र आयात गरेर दाना उत्पादन गर्नुपर्ने बाध्यता भएकाले यसपटक दानाको मूल्य घटाउन नसकिएको उनको भनाई छ । मकैकै सिजनमा पनि युरोपलगायतका देशबाट मकै र भटमासको पीना आयात गर्नुपरेकाले मूल्य त नबड्ला तर, घट्दा पनि घट्दैन । रुस र युक्रेनले विश्व अर्थतन्त्रलाई नै असर पार्दा यसको असर दाना उद्योगमा परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL