Logo

नेपालको कालो सुन ‘अलैँची’ को निर्यातमा ओमिक्रोन र मूल्य अवरोध बन्दै, अर्बौको अलैची नेपालमै स्टक

नेपालको कालो सुन ‘अलैँची’ को निर्यातमा ओमिक्रोन र मूल्य अवरोध बन्दै, अर्बौको अलैची नेपालमै स्टक



काठमाडौं । पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपालबाट निर्यात हुने अलैँची रोकिएको छ । नेपालको कालो सुनको रुपमा चिनिदै आएको अलैँची व्यवसायीले उचित मूल्य नपाउँदा र भारतमा बढ्दै गएको ओमिक्रोन संक्रमणका कारण निर्यात ठप्पजस्तै भएको हो । चालु आर्थिक बर्षको पछिल्लो ५ महिनामा २ अर्ब १ करोड रुपैयाँ बढीको २३ लाख १९ हजार ४ सय १० किलो अलैंची निर्यात भएको छ । प्राय भारतमा निर्यात हुने नेपाली अलैंची हाल कोरोनाका कारण रोकिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की बताउँछन् ।

उनका अनुसार भारतका विभिन्न स्थानमा नयाँ भेरियन्ट देखिन थालेपछि व्यवसायीले हाललाई अलैंचीलगायतका वस्तुहरु तत्काल नल्याउन आदेश दिने गरेका छन् । कोरोनाको नयाँ भेरियन्टको त्रासका कारण भारतका विभिन्न स्थानमा पुनः लकडाउन गरिएको छ भने दिल्लीमा हप्तामा २ दिन कफ्र्यु घोषणा गरिएको छ । जसका कारण मसला उद्योगहरु पनि बन्द भएका कारण हाले व्यापार ठप्पै भएको उनले बताए ।

नेपालबाट पछिल्लो ५ बर्षमा मात्रै २० अर्ब ९८ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यसको व्यापार ट्रेन्ड हेर्ने हो भने पनि यसको निर्यात लगातार उकालो लाग्ने क्रममा छ । गत आर्थिक बर्षभर ७ अर्ब १ करोड रुपैयाँ बराबरको निर्यात भएको अलैंची अघिल्लो आर्थिक बर्ष २०७६÷७७ मा भने २ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ । तर, अघिल्लो आर्थिक बर्षको जति अलैंची चालु आर्थिक बर्षको ६ महिनामा भएको छ । चालु आर्थिक बर्षको दशैंभन्दा पछि मूल्य बढ्दा व्यवसायीहरुले राम्रै परिमाणमा अलैैंची भारत निर्यात गरेका थिए । तर, गत मंसिर महिनादेखि यसको मूल्य घटेसँगै अलैंची निर्यात ओरालो लागेको हो ।

६० प्रतिशत अलैैंची मौज्दात

नेपालले बर्षभरी निर्यात गर्ने अलैंचीको हालसम्म बढीमा ४० देखि ४५ प्रतिशत निर्यात गरिसकेको भएपनि बाँकी अलैंची मौज्दातमा रहेको व्यवसायीहरु बताउँछन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार नेपालसँग हाल ५५ देखि ६० प्रतिशत अलैंची भण्डारणमै छ । मूल्य घटेका कारण र कोरोनाकै कारण हाल अलैंचीको व्यापार नभएकाले मौज्दातमा रहेको हो । ‘अहिले त आधा बर्ष मात्रै अलैंचीको कारोबार भएको हो अझैं आधा बर्ष त बाँकी नै छ,’ उनले भने, ‘बाँकी अलैंची मूल्य घटेका कारण गोदाममै रहेको हो ।’

चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म पहिलो ग्रेडको अलैंचीको बजारमूल्य प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँ बढी थियो । पछिल्लो डेढ महिनापछि भने यसको मूल्य घटेर प्रतिकिलो ९ सय ५० रुपैयाँमा पुगेको छ । विसं २०७० सालमा नेपालको अलैंचीको मूल्य प्रति किलो ३ हजार रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्दै गत बर्ष प्रतिकिलो ६ सय ५० रुपैयाँमा झरेको थियो । यसरी गत बर्ष ६ सय रुपैयाँ पुगेको अलैंचीले यो बर्ष भने ९ सय भएपनि केही मूल्य भएको संघका अध्यक्ष काकीले बताए । ‘गत बर्ष अलैंचीको मूल्य ६ सय पुग्दा त बेचेका थियौं,’ उनले भने, ‘यसपाली त झन ९ सय पुगेको छ ।’

विक्री नहुने चिन्ता

नेपालका लागि अलैंचीको सबैभन्दा ठूलो आयातकर्ता भारत नै हो । पाकिस्तान, जर्मनी, कतार, चीन, साउदी अरवलगायतका देशहरुमा केही मात्रामा नेपालको खपत हुनेभएपनि कुल निर्यातको ९८ प्रतिशत हिस्सा भारतकै हो । हाल भारमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका ३ हजार बढी केस देखिसकेका छन् । धेरै कार्यक्रमहरु स्थगित भएका छन् र दिल्लीलगायतका महाराष्ट्र, तमिलनाडु, कर्नाटक, पश्चिम बंगाललगायतका क्षेत्रहरुमा आंशिक र पुर्ण कफर््यु लगाईसकिएको छ ।

यसबीचमा भारतमा नेपालको अलैंची सबैभन्दा बढी खपत भने फेब्रुअरीपछि हुन्छ । अर्थात डिसेम्बरदेखि जनवरी अन्तिमसम्म भारतकै आसाम र अरणाञ्चलका विभिन्न क्षेत्रहरुको अलैँची भारतमा खपत हुन्छ । ती क्षेत्रको अलैंची सकिएपछि मात्रै नेपाली अलैंचीले उचित मूल्य र बजार पाउँछ । तर, अहिले भने भारतमा फेब्रुअरी महिनामै कोरोनाले भयावह रुप लिने प्रक्षेपण गरिएको छ । जसका कारण नेपालको अलैंचीले बजार नपाउने समस्या आउने अवस्था निम्तिएको छ । यसले एकातिर उचित मूल्य र बजार पाउने मौका गुम्नेछ भने अर्काेतिर थुप्रै अलैंची नेपालमै कुहिने सम्भावना बढेर गएको संघका अध्यक्ष कार्कीले बताए । उनका अनुसार फेब्रुअरीसम्म भारतकै अलैंची भारतमा खपत हुन्छ र त्यसपछि बजार बन्द भएपछि नेपालको अलैंची नेपालमै स्टक रहने देखिन्छ ।

नेपालमा १४ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको छ । त्यसमा नेपालको कुल अलैंची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चलले ओगटेको छ । नेपालको पूर्वी पहाडमा उत्पादन भएका अलैंचीले कुनै वर्ष वार्षिक १० अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गर्ने गरेको छ । चालु आर्थिक बर्षको तथ्यांक हेर्दा नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तुहरुको सूचीमा अलैंची ९ औं स्थानमा रहको देखिन्छ । भारतका अमृतसार, दिल्ली र कानपुरमा बढी व्यापार हुने अलैंची मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने गरेको छ ।

सरकारको बेवास्ता

अलैंची निर्यातमा नेपाल हाल खासगरी भारतीय बजारमा मात्रै केन्द्रित छ । नेपालमै अन्तरराष्ट्रिय स्तरको ल्याव नहुँदा भारतमा जाने प्राय नेपाली उत्पादनहरु कहिले महिनौं गोदाममै बस्नुपर्ने र सड्ने गरेको समस्या पनि निम्तिने गरेको छ । सरकारले हालसम्म आफ्नो निर्यात नाकामा एग्रिडेटेल ल्याव नबनाईदिँदा नेपाली वस्तुहरुको क्वारेन्टाईन जाँच बिहारको पटना र कोलकत्ता पुगेर गर्नुपर्ने बाध्यता छ । सरकारले बनाउँछु भनेर नबनाउँदा नेपाली उत्पादनको अवमूल्यन हुँदै आएको महासंघका अध्यक्ष कार्कीले बताए ।

यस्तै सरकारले तेस्रो मुलुकमा यसको निर्यातको बाटो खोल्ने भनेर मौखिक रुपमा आश्वासज दिदै आएपनि त्यसका लागि उचित कदम भने चालेको छैन । जसका कारण भारतीय बजारमा मात्रै निर्भर रहने व्यवसायीहरुले यो बर्षको अलैंची निर्यातमा ठुलो नोक्सान व्यहोर्नुपर्ने खतरा बढेको छ । ‘यदि हामीले तेस्रो मुलुक निर्यात गर्नेगरी सरकारी निकायबाट सहजीकरण भएको भए नेपालको अलैंची तेस्रो मुलुक निर्यात हुनेथियो नेपालमै स्टक बस्ने थिएन,’ उनले भने, ‘सरकारले यसको बाटो खोल्ने र सहजीकरण गर्ने बताएपनि काम गरेको छैन ।’ बंगलादेशकै कुरा गर्दा पनि भुटानबाट आयात हुने अलैंची बंगलादेशमा शुन्य भन्सारमा पग्छ । तर, नेपालबाट जाने अलैंची भने ३५ प्रतिशत करसहित पुग्ने गरेको छ । जसका कारण नेपाली अलैंचीले भुटानको अलैंचीसँग प्रतिस्पर्धा गर्न नसककेो र यसका लागि पनि सरकारले विभिन्न देशसँग भन्सार महशुल घटाउन पहल गर्नुपर्नै व्यवसायीले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL