Logo

बढ्यो पर्यटक आगमन, १ महिनामा भित्रिए १ लाख ४३ हजार

बढ्यो पर्यटक आगमन, १ महिनामा भित्रिए १ लाख ४३ हजार



काठमाडौं । सरकारले भ्रमण बर्षको प्रचारप्रसारलाई तीब्र बनाएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय नेपाल भित्रने पर्यटकको संख्यामा १० प्रतिशतको वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

अध्यागमन विभागका अनुसार चालु बर्षको अक्टोबरमा गत बर्षको सोही अबधिको तुलनामा पर्यटक आगमनमा १० प्रतिशतले वृद्धि भएको हो ।

अध्यागमन विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु बर्षको अक्टोबरमा १ लाख ४३ हजार ८ सय ७० जना पर्यटक नेपाल आएका छन । जसमध्ये १ लाख २३ हजार २ सय ६७ जना पर्यटक हवाईमार्गबाट र बाँकी २० हजार ६ सय ३ जना पर्यटक स्थलमार्गबाट नेपाल आएका हुन ।

पछिल्लो १० महिनामा नेपालमा ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन । जसमध्ये ८ लाख २० हजार ४ सय ९९ जना पर्यटक हवाईमार्गमार्फत र १ लाख ५५ हजार ५८ जना पर्यटक भने स्थलमार्गमार्फत आएका हुन ।

विभागको तथ्याङ्क अनुसार चालु बर्षको अक्टोबरमा भारतबाट आउने पर्यटकको संख्यामा ९ प्रतिशतको वृद्धि आएको छ । १२ हजार ७ सय ७ जना भारतीय पर्यटक अक्टोबरमा नेपाल भ्रमणमा आएका छन ।

यस्तै बंगलादेशी पर्यटकको संख्या भने यो बर्षको अक्टोबरमा ५८ प्रतिशतले बढेर २ हजार ७ सय ८६ जना पुगेको तथ्याङ्कले देखाएको छ । यस्तै यो बर्ष चिनियाँ पर्यटकको संख्यामा पनि ११ दशमलव ५ प्रतिशत वृद्धि आएको छ । अध्यागमन विभागका अनुसार यो बर्षको अक्टोबरमा १५ हजार ३७ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन ।

साथै जापान, थाईल्याण्ड लगायतका देशबाट आउने पर्यटकको संख्यामा पनि सोही अनुसारकै वृद्धि भएको अध्यागमन विभागले जानकारी दिएको छ । यो बर्षको अक्टोबरमा अमेरिकी पर्यटकको संख्यामा भने जम्मा ५ प्रतिशतको वृद्धि आएको छ । तथ्याङ्क अनुसार अक्टोबर भरी १२ हजार १ सय ९ जना अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL