Logo

मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल, दैनिक ३ हजार पर्यटक भित्रिँदै

मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल, दैनिक ३ हजार पर्यटक भित्रिँदै



काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन बढेको छ । असोज महीनाको सुरुसँगै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् ।

पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिएका छन । उनका अनुसार मुस्ताङमा २८० होटल तथा लज सञ्चालनमा छन् ।

‘दशैँको घटस्थापना लगत्तै देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने क्रम बढिरहेको छ,’ तुलाचनले भने, ‘पछिल्ला समयमा सडक, यातायातको सुविधा, छुट्टी र अनुकूल मौसमका कारण मुस्ताङमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।’

पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक ३ हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक बद्रीनाथ शर्माका अनुसार मुस्ताङमा गाडी र मोटरसाइकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महीना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।

त्यस्तै तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाका लेते, नाउरीकोट, कुन्जोमा आन्तरिक पर्यटकको चाप बढेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए । थासाङ गाउँपालिकाको सेकोङ ताल, भुछर ताल, टिटी ताल, गुरुसाङ्बो गुफा, घाँसा चरा अवलोकन आदिमा पर्यटक रमाउने गरेका छन् ।

माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृतिको अनुपम स्थल लेते, मुक्तिनाथ, ठिनी, ढुम्बा ताल, कागबेनी, दामोदर कुण्ड एवं फरक भू–बनोट अवलोकनका लागि मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको पोखराका पर्यटन व्यवसायी तारानाथ पहारीले बताएका छन ।

पछिल्ला समयमा यहाँको होटेलका साथै ठाउँठाउँमा सञ्चालित घरवास पनि पर्यटकको रोजाइमा परेका छन् । अघिल्लो वर्ष मात्रै १ हजार आन्तरिक पर्यटकले ठिनी होमस्टेमा बास बसेको हामेस्टेका सञ्चालिका जुमा थकालीले जानकारी दिएकी छिन । यस वर्ष अघिल्लो वर्षभन्दा दोब्बर संख्यामा पर्यटक आउने अपेक्षा गरिएको उनले बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL