Logo

सगरमाथा चढ्नु पहिला ६ हजार मिटरको हिमाल चढ्नु पर्ने, हिमाल आरोहणमा स्वास्थ्य परीक्षण अनिवार्य

सगरमाथा चढ्नु पहिला ६ हजार मिटरको हिमाल चढ्नु पर्ने, हिमाल आरोहणमा स्वास्थ्य परीक्षण अनिवार्य



काठमाडौं । आगामी सिजन देखी हिमाल आरोहणमा जाने आरोहीले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पत्रकार भेटघाटमा बोल्दै मन्त्री योगेशकुमार भट्टराईले आगामी सिजन देखी हिमाल आरोहणमा जानेलाई स्वास्थ्य परीक्षण गरेर मात्रै अनुमति दिने बताएका हुन ।

सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख भए अनुसार ऐन, नियम, मापदण्डलाई समेत परिमार्जन गरी अघि बढ्ने र नयाँ मापदण्ड बनाउनु पर्ने भए पनि बनाएर अघि बढ्ने समेत जानकारी दिएका छन ।

मन्त्री भट्टराईले आरोहणमा जाने सबै आरोहीलाई सगरमाथा सुरक्षित रहेको भन्दै आरोहण गर्नु पूर्व सबै मापदण्ड पूरा गर्न समेत आग्रह गरेका छन । त्यस्तै उनले सगरमाथालगायतका हिमाल आरोहणमा हुने अश्लिल हर्कत नगर्न समेत आरोहीलाई चेतवानी दिएका छन ।

प्रतिबेदनमा दिएको सुझाव अनुसार आउँदो सिजन देखी आरोहीले सगरमाथा आरोहण गर्नुअघि ६ हजारदेखि ७ हजारसम्म उचाइ भएका हिमाल आरोहण गरेको अनुभव गर्नु पर्ने भएको छ । गत जेठमा सरकारले गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो ।

आगामी सिजनदेखि आरोहण दलको लियाजन अफिसर (सम्पर्क अधिकृत) मा आरोही शेर्पाहरूलाई पनि समेटिने भएको छ । साथै यस अघि आधार सिविर सम्म नपुग्ने सम्पर्क अधिकृतहरुले आउने सिजनबाट भाग लिन नपाउने भएका छन । गत बर्ष ९१ जना सम्पर्क अधिकृत खटाएकोमा २२ जना मात्रै आधार सिविर पुगे पछि प्रतिवेदनमा बाँकी अधिकृतहरुलाई अर्को बर्ष देखी सम्पर्क अधिकृतमा नखटाउने गरी सुझाव पेश गरेको कार्यदलका संयोजक उपाध्यायले जानकारी दिएका छन ।

सरकारले गठन गरेको कार्यदलमा पर्यटन मन्त्रालयका प्रवद्र्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायबाहेक पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) का अध्यक्ष नवराज दाहाल सदस्य रहेका थिए । पर्यटन विभागकी उपसचिव मीरा आचार्य भने सदस्य सचिव थिइन ।

प्रतिक्रिया दिनुहोस्
MBL