Logo

जहाज पूर्ण क्षमतामा चलाउन निगमलाई पर्यटन मन्त्रीको निर्देशन, सबै विमानस्थलबाट हवाई सेवा

जहाज पूर्ण क्षमतामा चलाउन निगमलाई पर्यटन मन्त्रीको निर्देशन, सबै विमानस्थलबाट हवाई सेवा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले नेपाल वायुसेवा निगममा भएको सबै जहाज पूर्ण रुपमा संचालन गर्न निर्देशन दिएका छन ।

laxmi

उनले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी आम्दानी बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न र राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन निर्देशन दिएका हुन । सोमबार निगमका उच्चपदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा उनले विमान संचालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक हो, तर विमान खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाई बाहिर कुरा काट्ने स्थिति नआउने वातावरण बनाउनु पर्ने बताएका छन ।

मन्त्री भट्टराईले विगतमा दुर्गम क्षेत्रमा गरेको सेवा उल्लेखनीय रहेको भन्दै अवका दिनमा पनि समय सापेक्ष स्तरिय सेवा प्रदान गर्न सक्रिय रहन निर्देशन दिएका हुन । उनले विमानस्थलहरुको संख्या थपिंदै गएको भन्दै थप भएका विमानस्थलहरुमा समेत सेवा विस्तार गर्न निर्देशन दिएका छन । साथै उनले आगामी मंसीरमा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको शिलान्यास गरिने बताएका छन ।

पर्यटन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पूँजीमा संतुलन आवश्यक रहेको र त्यसमा सरकारको सकारात्मक सहयोग रहने तर निगमले स्पष्ट व्यावसायिक योजना ल्याउनु पर्ने बताएका छन । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तरराष्ट्रिय उडानमा सवभन्दा बढी यात्रु बोक्न सफल भएको बताएका छन ।

निगमले सेवाको स्तर बृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको बताउँदै खरेलले पूँजी र ऋणबीच सन्तुलन हुनुपर्छ भन्ने अवधारणाले गर्दा नै सरकारबाट २० अर्ब रुपैयाँको माग गरेको बताए ।

उनले भने, ‘उड्डयन जस्तो संवेदनशील र तरल विषयमा आरोह अवरोह आउनु स्वाभाविक हो ।’ त्यस्तै आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले बढदो उड्डयन क्षेत्रलाई ध्यानमा राखी निगमका लागि थप १५ ओटा विमान खरिद गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL