Logo

भरतपुर विमानस्थल प्रयोग गर्ने यात्रुको संख्या घट्यो, राजस्व संकलनमा गिरावट

भरतपुर विमानस्थल प्रयोग गर्ने यात्रुको संख्या घट्यो, राजस्व संकलनमा गिरावट



काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारसँगै चितवनको भरतपुर विमानस्थल जाने हवाई यात्रु घटेका छन । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुको संख्यामा कमि आएको हो ।

आव २०७४/७५ मा भरतपुर विमानस्थलबाट २ लाख ७० हजार ६२६ जनाले यात्रा गरेकामा गत आवमा सो संख्या घटेर १ लाख ८७ हजार ८३८ जनाले मात्र हवाई यात्रा गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा ८२ हजार ७८८ यात्रु घटेका हुन ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार यात्रुको संख्यामा कमी आए पनि विदेशी पर्यटकहरुको संख्या भने बढेको छ । अघिल्लो आवमा १० हजार ३८५ विदेशी पर्यटकले हवाई मार्ग प्रयोग गरेकामा गत आवमा २१ हजार ३२० विदेशीले हवाई मार्ग प्रयोग गरेका थिए । यात्रु घटेसँगै राजस्वमा पनि गिरावट आएको छ ।

अघिल्लो आवमा ३ करोड ६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको विमानस्थलले गत आवमा भने २ करोड २७ लाख ६९ हजार मात्रै राजस्व सङ्कलन गरेको थियो । सेवा शुल्क भने गत आवमा १ करोड ६९ लाख ५४ हजार मात्र सङ्कलन भएकामा अघिल्लो आवमा सोही शीर्षकमा २ करोड ४५ लाख ४० हजार १६ लाख ६२ हजार सङ्कलन भएको थियो ।

सडक राम्रो भएसँगै हवाई मार्गको प्रयोग गर्ने यात्रुहरु सडकमार्फत यात्रा गर्न थालेकाले विमानस्थलमा यात्रुको चाप घटेको हो । कार्यालयका प्रमुख गौतमका अनुसार आव २०७४/७५ मा दैनिक २४ वटा सम्म जहाज उडान र अवतरण भएकामा गत वर्ष भने दैनिक ७ देखि ८ वटामा झरेको थियो ।

बुद्ध एयर र यती एयरलाइन्सले भरतपुर–काठमाडौं उडान गर्दै आएका छन । बुद्ध एयरले भरतपुर–पोखरा पनि उडान भर्दै आएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL