Logo

अफ सिजन सुरु भएसँगै अधिकांश होटलहरु भए सुनसान, कार्यक्रमकै भरमा चल्छन् ठूला चेन होटल

अफ सिजन सुरु भएसँगै अधिकांश होटलहरु भए सुनसान, कार्यक्रमकै भरमा चल्छन् ठूला चेन होटल



काठमाडौं । पर्यटकिय सिजन समाप्त भएसँगै नेपालमा संचालित ठूला साना होटलको अकुपेन्सीमा गिरावट आएको छ । पर्यटकिय हवका रुपमा रहेको चितवनको सौराहामा सिजनको समयमा ४० प्रतिशतको हाराहारीमा अकुपेन्सी रहे पनि वर्षा लागेसँगै होटलहरु सुनसान भएका छन ।

होटल एशोसिएशन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेक महतका अनुसार सिजनमा ४० प्रतिशत भए पनि अहिले भने १५ प्रतिशतको हाराहारीमा मात्रै अकुपेन्सी रहेको बताए । उनले भने, ‘चितवनमा अधिकांश पर्यटक जाने भनेको घुम्नकै लागि हो । जहाँ पूर्वधारको कमि छ त्यहाँ यस्तो बर्षायाममा जाने पर्यटक कति होला हामी अनुमान गर्न सक्छौं ।’
त्यस्तै अफसिजनकै कारण हिमाली क्षेत्रका होटल प्राय सुनसाननै देखिन्छन ।

अहिले सगरमाथा, मनाङ, मुस्ताङलगायतका होटल समेत सुनसान देखिन्छन । जहाँ पर्यटकिय पूर्वधार नभएकाले गर्दा पनि त्यहाँका होटलहरु सुनसान भएको हो । सिजनमा ८०/९० प्रतिशत अकुपेन्सी रहेको काठमाडौंका ठूला चेनहोटलहरुमा समेत अहिले पर्यटकको चाप घटेको छ । उनका अनुसार काठमाडौं र पोखराका ठूलाहोटलहरुमा भने ६० देखी ७० प्रतिशतको हाराहारीमा मात्रै अकुपेन्सी रहेको छ ।

काठमाडौं र पोखराका होटलहरुको अकुपेन्सी नघटनुमा भने प्रशासशकिय कामले गर्दा नै हो । महतले भने, ‘पोखरा र काठमाडौंको ठूला होटलमा भने पर्यटकको आगमन कम भए पनि दैनिक हुने विभिन्न कार्यक्रमले गर्दा होटलको आम्दानीमा खासै प्रभाव पार्न सकेको छैन ।’ तर नेपालगञ्ज, हिमाली क्षेत्र सोलुखुम्बुलगायत सो क्षेत्रमा रहेका नाम्चे, लुक्ला लगायतका होटल भने सुनसाननै देखिन्छ ।

गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको से–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका ५ तारेसहितका सुविधा सम्पन्न होटल अहिले बन्द हुने अवस्थामा पुगेका छन ।

पर्याप्तमात्रामा पर्यटकिय पूर्वधारबिना खुलेका त्यस्ता होटलहरुले बजार नपाउँदा अहिले लगानीकर्ताहरु चिन्तित बनेका छन । त्यसो त २०१९ को पहिलो ६ महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा पनि खासै प्रगति भएको देखिदैन ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने भनिए पनि २०१९ को पहिलो ६ महिनामा नेपालमा आउने विदेशी पर्यटकको संख्या ५ लाख ८५ हजार ५ सय ३१ मात्रै रहेको छ । अफसिजन सुरु भएसँगै पर्यटकको संख्यामा बृद्धि हुन नसक्दा होटलहरुको अकुपेन्सीमा समेत धक्का लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL