Logo

सहस्राब्दी पदमार्गमा ५० हजार पर्यटक लैजाने तयारी, पूर्वधार निर्माणमा तिब्रता

सहस्राब्दी पदमार्गमा ५० हजार पर्यटक लैजाने तयारी, पूर्वधार निर्माणमा तिब्रता



काठमाडौं । भ्रमण बर्ष २०२० मा सहस्राब्दी पदमार्गमा ५० हजार पर्यटक लानेगरी काम अघि बढाएको छ । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा ५० हजार पदयात्री लैजाने गरी काम सुरु गरेको हो ।

laxmi

नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको हो । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र भिजिट नेपाल २०२० लाई सफल पार्ने योजनाअनुरुप लक्ष्य सार्वजनिक गर्दै आफूहरू अघि बढेको समितिका महासचिव हर्क गुरुङले जानकारी दिएका छन ।

सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रवद्र्धनलाई लक्षित गरी बृहत गुरुयोजना निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइसकेको गुरुङले बताए । गुरुयोजनामा पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

समितिले पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ । लक्ष्य सार्वजनिकसँगै पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताउँदै महासचिव गुरुङले यसबीचमा विभिन्न स्थानमा अत्यावस्यकीय पूर्वाधार निर्माण भइसकेको जानकारी दिएका छन ।

‘पहिलो चरणमा पदमार्गअन्तरगतका आवतजावत गर्न असहज हुने ठाउँमा बाटो निर्माण एवं ममर्तलाई प्राथमिकतामा राखिएको छ’, उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको बुढाकोटसम्मका पदमार्गका अप्ठेरा बाटो मर्मत गरिसकेका छौँ ।’ समितिले यस अवधिमा पदमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–१० को रजस्थल सामुदायिक घरवासबाट ढोर मूलकोट दरबार जाने ३ सय मिटर सिँढी बाटो ३ लाख ५० हजार रुपैयाँको लागतमा सम्पन्न गरिसकेको छ ।

त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ मिनेनियम गुफाबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–७ सादीखोला ‘होमस्टे’ जाने ६ सय मिटर लम्बाइको सिँढी बाटो ९ लाख ५० हजार लागतमा निर्माण गरिएको छ । समितिले पुतलीबजार नगरपालिका–२ भैंसेगौँडामा ३ सय मिटर लम्बाइको ढलान सिँढी बाटो ३ लाख ५० हजार लागतमा निर्माण गरेको छ भने पुतलीबजार नगरपालिका–१२ मा नकचु महादेव पञ्चमुखी धाम जाने प्रवेशद्वार, प्रतीक्षालय, शौचालयका साथै २५० मिटर लम्बाइको सिँढी बाटो ५ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोटबाट बुढाकोट जाने ३५० मिटर लम्बाइको सिँढी बाटो ५ लाखको लागतमा निर्माण गरिएको छ । आगामी आव २०७६/७७ मा बुढाकोटबाट पदमार्गको अन्तिम गन्तव्य बिन्दु रामबाछासम्मका अप्ठेरा बाटा एवं आवश्यक पूर्वाधार निर्माण गरिने योजना रहेको छ ।

प्रदेश सरकारको प्राथमिकतामा सहस्राब्दी पदमार्ग

गण्डकी प्रदेश सरकारले सहस्राब्दी पदमार्गलाई प्राथमिकतामा राख्दै आव २०७६/७७ का लागि बजेट विनियोजन गरेको छ । सरकारले सहस्राब्दी पदमार्गसहित अन्नपूर्ण चक्रीय पदमार्ग र धौलागिरि पदमार्गका लागि आव २०७६/७७ मा १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सहस्राब्दी पदमार्गकै पूर्वाधार विकासका लागि आव २०७६/७७ का लागि ५० लाख रुपैयाँ छुट्याइएको छ । उक्त पदमार्ग प्रदेश सरकारको प्राथमिकतामा परेका कारण पदमार्ग क्षेत्रका बासिन्दामा पनि उत्साह थपेको मिलेनियम भैंसेगौँडा सामुदायिक घरवासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।

नेपाल पर्यटन बोर्डले पनि यसको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै पदमार्ग क्षेत्रका विभिन्न स्थानमा गन्तव्य संकेत पाटी राख्न सहयोग गरेको छ । समितिले कूल ७२ किलोमिटर दूरीमा ३ सय स्थानमा गन्तव्य संकेत पाटी राख्ने योजना अघि सारेकामा पहिलो चरणमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सहयोगमा अत्यावश्यक ४२ स्थानमा यस्ता संकेत पाटी राखेको छ ।

पदमार्गअन्तर्गतका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । यो पदमार्गमा विश्वमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर, लोपोन्मुख प्रजातिका गिद्धलगायत १३४ प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL