Logo

संघीय संरचनाले नेपालगञ्जका होटलको व्यापार खस्कियो, पर्यटक नआउँदा ब्यवसाय धान्न कठिन

संघीय संरचनाले नेपालगञ्जका होटलको व्यापार खस्कियो, पर्यटक नआउँदा ब्यवसाय धान्न कठिन



काठमाडौं । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ ।

नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका ५ तारेसहितका सुविधा सम्पन्न होटल मुलुकको संघीय संरचनाका कारण ओरालो लाग्न थालेको होटल व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले बताएका छन ।

नेपालगञ्जमा भएका अन्तरराष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था, सरकारीस्तरका महत्वपूर्ण कार्यालयलगायतका व्यापारिक प्रतिष्ठान प्रदेश ५ को राजधानी बुटवल र कर्णाली प्रदेशको राजधानी सुर्खेत जाने क्रम बढेसँगै नेपालगञ्जको होटल व्यवसाय धरायशी बन्दै गएको हो ।

झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चार तारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन । उनका अनुसार एक दशकयता नेपालगञ्जमा ठूला होटल व्यवसायमा झण्डै ५ अर्ब रुपैयाँ लगानी भएको छ ।

साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका ठूला होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले झस्काएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले उनीहरुलाई पिरोल्न थालेको छ ।

‘पुरानो संरचना हुँदासम्म होटल भरिभराउ हुन्थे, नयाँ संरचनापछि त प्रायः होटलका कोठा खाली हुने गरेका छन । सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमले भरथेग हुने अवस्था पनि अब रहेन’, नेपालगञ्जस्थित होटल इन्द्रेणीका सञ्चालक घनश्याम थापाले भने ।

अर्को तर्फ नयाँ सुविधा सम्पन्न होटल थपिँदै गएपछि सञ्चालनमा रहेका पुराना होटललाई भने व्यवस्थापन खर्च धान्न मुस्किल परेको अवस्था छ । अन्य व्यापारबाट कमाएको धन होटल व्यवसायमा लगानी गर्ने अस्वस्थ प्रतिस्पर्धाले नेपालगञ्जको होटल व्यवसाय कतै धरापमा पर्ने त होइन भन्ने चिन्ता बढाएको छ ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली क्षेत्रको रारा र शे–फोक्सुण्डो ताल, प्यूठानको स्वर्गद्वारीलगायतका पर्यटकीय क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटक यदाकता आउने भएकाले होटल व्यवसायीलाई केही राहत मिलेको व्यवसायीहरुको भनाइ रहेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL