Logo

त्रिभुवन विमानस्थलले उठाउन सकेन साढे २ अर्ब रुपैयाँ बक्यौता, सरकारी कार्यालयको मात्रै ५६ करोड बाँकी

त्रिभुवन विमानस्थलले उठाउन सकेन साढे २ अर्ब रुपैयाँ बक्यौता, सरकारी कार्यालयको मात्रै ५६ करोड बाँकी



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले बक्यौता बापतको २ अर्ब ५६ करोड १८ लाख २८ हजार ५ सय ७५ रुपैयाँ रकम उठाउन बाँकी रहेको छ ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार संचालनमा रहेका विमान कम्पनी तथा फर्महरुको बक्यौता रकम किस्तामा उठे पनि बन्द भएका विमान कम्पनी तथा फर्महरुले भने रकम नबुझाउँदा समस्या आएको छ ।

चालु अवस्थामा रहेका ५५ अन्तरराष्ट्रिय विमान कम्पनीको मात्रै जेठ मसान्त सम्ममा बक्यौता रकम १ अर्ब ३१ करोड ७१ लाख २१ हजार ८ सय १४ रुपैयाँ रहेको छ । आन्तरिक तर्फ १८ विमान कम्पनीको ४ करोड ४३ हजार ४४ रुपैयाँ रहेको नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै २०७३ साल भन्दा अघि बन्द भएका १८ अन्तरराष्ट्रिय विमान कम्पनीको बक्यौता रकम ४ करोड ८३ लाख ७८ हजार ७ सय ६ रुपैयाँ रहेको छ भने आन्तरिक तर्फ १२ विमान कम्पनीको ८ करोड ४३ लाख ७५ हजार १ सय ९० रुपैयाँ रहेको छ ।

सरकारी कार्यालयको बक्यौता रकम भने ५६ करोड १३ लाख ८ हजार ४१ रुपैयाँ रहेको छ । त्यस्तै अपरेटिङ पाट्र्समार्फत उठनु पर्ने बक्यौता भने ४७ करोड ९९ लाख ६४ हजार ४ सय ५१ रुपैयाँ रहेको छ । त्यस्तै २०७४ असार मसान्त भन्दा अघि बन्द भएका अपरेटिङ पाट्र्समार्फत उठनु पर्ने बक्यौता रकम ३ करोड ६ लाख ४७ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।

बारम्बार विभिन्न समितिहरुले बक्यौता रकम उठाउन निर्देशन दिए पनि हालसम्म उक्त रकम उठन सकेको छैन । विमानस्थल प्रमुख क्षेत्रीले भने बन्द भएका कम्पनीहरुलाई पत्रचार भईरहेको र अन्य संचालनमा रहेका विमान कम्पनी तथा फर्महरुले भने किस्तामा रकम बुझाईरहेको जानकारी दिएका छन ।

कतिपय कम्पनी वा फर्महरुलाई भने प्राधिकरण आफैंले पत्रचार गरी कारवाही गरेको तथ्याङ्कमा उल्लेख गरिएको भए पनि उक्त रकम उठन सकेको छैन । क्षेत्रीले भने समस्याको रुपमा रहँदै आएको बक्यौता रकम भने सरकारी कार्यालयहरुको रहेको जानकारी दिएका छन । सरकारले निर्णय नगरे सम्म त्यस्तो बक्यौता रकम उठाउन नसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL