Logo

युरोपियन आकाशमा उड्न आएटासँग सम्झौता गर्दै निगम, कालोसुचीबाट होला त उन्मुक्ति ?

युरोपियन आकाशमा उड्न आएटासँग सम्झौता गर्दै निगम, कालोसुचीबाट होला त उन्मुक्ति ?



काठमाडौं । सन् २०१३ मा अन्तरराष्ट्रिय उड्ययन सङ्गठन (आइकाओ)ले महत्वपूर्ण सुरक्षा प्रश्न उठाए लगत्तै युरोपियन युनियले नेपाली जहाजलाई कालोसुचीमा राखेको छ । त्यसयता युरोप उडान नेपाली जहाजका लागि प्रतिबन्धित छ । यसबीचमा कुटनीतिक रुपमा विभिन्न समयमा कालोसुचीबाट हटाउन प्रयत्न भएपनि त्यसमा ठोस उपलब्धी भने हुन सकेको छैन ।

नियामक निकाय नागरिक उड्ययन प्राधिकरणले पनि आइकाओले सुरक्षा संदेनशीलताको सुचीबाट नेपाललाई हटाएपछि विभिन्न अन्तरराष्ट्रिय फोरममा ईयुको कालोसुची हटाउन आग्रह गर्दै आएको छ ।

कालोसूचीबाट हट्ने प्रयत्नबीच राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगम आफ्नै प्रयासमा अघि बढिरहेको छ । यसका लागि निगमले विश्वभरका जहाज कम्पनीको व्यापारिक छाता संगठन इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) सँग सुरक्षा परिक्षणको सम्झौताको अन्तिम तयारीमा छ ।

निगमका सह प्रवक्ता नवराज कोइरालाका अनुसार आएटा अपे्रशनल सेफ्टी अडिट (आयोसा) प्राप्त गरि त्यसै अनुसारको कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ । बढीमा एक महिनाभित्र आएटासँग यस विषयमा सम्झौता गर्ने तयारी रहेको उनले जानकारी दिए ।

यसपश्चात उडान सञ्चालन योग्य मानिनेछ र विश्वभर उडानको लागि यात्रु पाउने सम्भावना रहनेछ । त्यतिमात्र होइन ईयु उडान अनुमतिको ढोका खुल्ने सम्भावना निगमका लागि रहने कोइरालाले बताए ।

सबै नेपाली जहाजलाई नै कालो सुचीमा राखेको बेला निगमको यो प्रयासले केही राहत पुग्ने कोइराला बताउँछन । निगमले आएटाको आयोसा प्रमाणपत्र प्राप्त गर्न सकेको खण्डमा इयुको कालोसुचीबाट हट्न सक्ने निगमको दाबी छ ।

उक्त प्रमाणपत्र पाएपछि अन्य जहाज कालोसुचीमा रहे पनि निगमले भने उक्त कालोसुचीबाट मुक्त हुन सक्ने सम्भावना रहन्छ । अहिले निगमको ग्राउण्ड ह्याण्डलिङमा पनि आएटाले आएटा सेफ्टी अडिट फर ग्राउण्ड अप्रेशन प्रमाण पत्र दिईसकेको अवस्था छ ।

आयोसा प्रमाणपत्र प्राप्त गर्न ८ ओटासम्म चरण पार गर्नुपर्ने निगमले जनाएको छ । त्यसमध्ये तीन चरण पार भइसकेको र बाँकी चरण पार गर्न केही मेहनत गरे प्रमाणपत्र प्राप्त गर्न सकिने कोइरालाको भनाई छ ।

आएटासँग सम्झौता भएपनि केही चरण पार गर्न बाँकी रहेकोले तत्काल नै ईयूको आकाश निगमका लागि खुला हुनेछ भन्ने सम्भावना केही कम रहेको कोइराला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL