Logo

गौतमबुद्ध विमानस्थलमा भियतनामबाट सिधा उडान, प्रधानमन्त्रीको भ्रमणमा भियतनामसँग सम्झौता

गौतमबुद्ध विमानस्थलमा भियतनामबाट सिधा उडान, प्रधानमन्त्रीको भ्रमणमा भियतनामसँग सम्झौता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच सिधा हवाई उडान सम्झौता हुने भएको छ । प्रधानमन्त्री ओलीको ४ दिनसम्म हुने भियतनाम भ्रमणका क्रममा नेपाल र भियतनाम सरकारबीच सिधा हवाई उडान सम्झौता हुन लागेको हो ।

भ्रमणका क्रममा भियतनामबाट गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न समेत सम्झौता गर्ने तयारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सम्झौता गर्न सरकार तयारीका साथ भियतनाम प्रस्थान गरेको छ । यदी दुबै देशका प्रधानमन्त्रीबीच छलफल भई सम्झौता भएको खण्डमा भिजन २०२० लाई समेत सहयोग पुग्ने छ ।

भियतनामका अधिकांश नागरिक बौद्ध धर्मालम्बी रहेका छन भने नेपालमा गौतमबुद्ध जन्मेको देश लुम्बिनी छ । उक्त सम्झौतासँगै भियतनामबाट नेपालमा हजारौं पर्यटक भित्र्याउन सहयोग पुग्नुका साथै हवाई कनेक्टिभिटी समेत बढने मन्त्रालयको विस्वास रहेको छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार उक्त विमानस्थलमा सिधा हवाई उडानमा सम्झौता भएमा नेपाल वायुसेवा निगमको जहाजका साथै अन्य जहाजले पनि सेवा लिन सक्नेछन । उनले भने, ‘हाम्रो तर्फबाट पूरा तयारीका साथ प्रम ओली जानु भएको छ सम्झौता हुने उच्च सम्भावना छ ।’

प्रधानमन्त्री ओली साप्ताहिक भ्रमणका लागि बिहीबार भियतनाम प्रस्थान गरेका छन । उनी भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तोमा आजै भियतनाम प्रस्थान गरेका हुन । प्रधानमन्त्री ओली जेठ १ गते मात्रै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL