Logo

आन्तरिक विमानस्थलमा ठूला जहाज अवतरण गर्न प्राधिकरणले थाल्यो काम, नेपालगञ्ज विमानस्थलको स्तरोन्नती यसै बर्ष

आन्तरिक विमानस्थलमा ठूला जहाज अवतरण गर्न प्राधिकरणले थाल्यो काम, नेपालगञ्ज विमानस्थलको स्तरोन्नती यसै बर्ष



काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार आन्तरिक विमानस्थललाई ठूला जहाज उडान अवतरण गर्न सक्नेगरी स्तरोन्नती गरिने भएको छ ।

नागरिक उड्डयन प्राधिकरण अन्तरगत एरोड्रोम ईन्जिनियरिङ बिभागले आन्तरिक विमानस्थलहरुमा ठूला जहाज उडान अवतरण गर्न सक्नेगरी स्तरोन्नती गर्ने भएको हो ।

विभागले यसै बर्ष नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गर्ने गरि गुरुयोजना बनाएको र यही बर्षबाटै काम सुरु गर्ने राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

त्यस्तै धनगढी, चन्द्रगढी, विराटनगर विमानस्थको पनि जग्गा अधिग्रहणको लागि तयारी भई रहेको अधिकारीले जानकारी दिएका छन । उक्त विमानस्थलहरुमा जग्गा अधिग्रहण गर्न सकेको खण्डमा भने केही मात्रामा भए पनि ठूला जहाज अवतरण गर्न मिल्ने अधिकारीले बताए ।

उनका अनुसार सो विमानस्थलहरुमा पोखरा, लुम्बिनी तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जस्तै नभई आकस्मिक रुपमा मात्र जहाज अवतरण गर्न सकिनेछ ।

अहिले अध्ययन भईरहेको ४ ओटा आन्तरिक विमानस्थल बाहेक अन्य विमानस्थललाई भने स्तरोन्नती गरे पनि ठूला जहाज उडान अवतरण गर्न नमिल्ने उनको भनाई रहेको छ ।

तर यि विमानस्थलहरुलाई स्तरोन्नती गरे पनि आईकाओको मापदण्ड अनुसार जुन विमान जाने हो त्यसलाई चाहिने धावनमार्ग मात्रै निर्माण गर्न सकिने छ । तर ३ ओटा विमानस्थलको जग्गाको पूर्व तयारी नगरी निर्माण गर्न नसकिने भएको छ । नेपालगञ्जको भने चालु आर्थिक बर्ष भित्रै स्तरोन्नती गरिने छ ।

कुन विमानस्थलको स्तरोन्नती कति

प्राधिकरणले ईलाम, थामखर्क, लामिडाँडा, खिजीचण्डेश्वरी, जनकपुर, भरतपुर, जोमसोम, गुल्मी रेसुङ्गा, अर्घाभगवती, जुम्ला, डोल्पा, सिमिकोट, दिपायल, रुम्जाटार, कालिकोट, डोटी, बैतडी लगायतका विमानस्थलहरुको यसै बर्ष स्तरोन्नती हुने भएको छ ।

उक्त विमानस्थलहरुको स्तरोन्नतीको लागि १ अर्ब १२ करोड ४७ लाख १ हजार ९ सय ५६ रुपैयाँ बजेट विनियोजन गरी काम गरे पनि चालु आवको ९ महिना वितिसक्दा अधिकांश आयोजनाको काम ५० प्रतिशत भन्दा न्युन रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार थामखर्क, लामिडाँडा, खिजीचण्डेश्वरी, दिपायल, रुम्जाटार, बैतडी र जुम्ला विमानस्थलको स्तरोन्नती भने ६० प्रतिशत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL