Logo

भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन, असफल हुने भएपछि प्रचारप्रसारलाई बोर्डले माग्यो १ अर्ब बजेट

भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन, असफल हुने भएपछि प्रचारप्रसारलाई बोर्डले माग्यो १ अर्ब बजेट



काठमाडौं । भ्रमण बर्ष २०२० सफल बनाउन नेपाल पर्यटन बोर्डले सरकारसँग १ अर्ब रुपैयाँ बजेट माग गरेको छ । अहिलेकै अवस्थामा २०२० मा २० लाख पर्यटक भित्र्याउन कठिन हुने भएपछि प्रचारप्रसारका कामलाई तीव्रता दिन बोर्डले सरकारसँग १ अर्ब रुपैयाँ माग गरेको हो ।

भ्रमण बर्षकै लागि विभिन्न कार्यक्रम र प्रचारप्रसार खर्चका लागि सरकारसँग १ अर्ब रुपैयाँको बजेट माग गरिएको बोर्डका प्रमुख कार्यकारी निर्देशक दिपक राज जोशीले जानकारी दिएका छन ।

बोर्डले बिभिन्न प्रचार प्रसारको कामलाई समेत तीब्र बनाउँदै लगे पनि अहिलेको संरचना र प्रचारप्रसार अनुसार २० लाख पर्यटक भित्र्याउन कठिन हुने भएपछि थप बजेट माग गर्नुपरेको बोर्डले जानकारी दिएको छ । बोर्डले माग गरेको १ अर्ब रुपैयाँले भ्रमण बर्षको प्रचार प्रसार गर्ने देखी बोर्डको अन्य काम समेत गर्ने छ ।

बोर्डले भिजन २०२० लाई सफल पार्न चालु आवमा मात्रै करिब ९० लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । बोर्डमा रकम अभाव भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले १० करोड रुपैयाँ स्वीकृत गरेको छ ।

उक्त रकमले आन्तरिक सेवा केन्द्र, जनचेतनाका कार्यक्रम गर्ने तथा अन्तरराष्ट्रिय बजारमा बिटुबी लगायतका कार्यक्रम संचालन गर्ने जोशीले जानकारी दिएका छन । सो रकम स्वीकृत भए पनि बोर्ड सचिवालयको खातामा भने आईसकेको छैन । तर केही दिन भित्रै उक्त रकम खातामा आउने जोशीले बताए ।

तर पर्यटन व्यवसायीहरु भने सरकारले भ्रमणबर्षकै लागि अर्बौ रुपैया रकम खर्च गरेर लुटन थालेको आरोप लगाएका छन् । ‘अर्बौ रकम खर्च गरेर पर्यटक ल्याउनु भन्दा पर्यटक किनेर ल्याए पनि २० लाख पुर्याउन सकिने छ,’ ब्यवसायीहरुले भने ।

यता बोर्डका सिईओ जोशी भने व्यवसायीहरुले अनावश्यक आरोप लगाएको भन्दै कसैले चाहेर पनि पर्यटक किनेर ल्याउन नसकिने बताउँछन् । ‘यदी पर्यटक किनेरै ल्याईयो भने पनि खर्च अनुसारको नाफा कमाउन सकिँदैन,’ उनले भने, ‘पर्यटक ल्याउने भनेकै पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, नेपालमा रहेका बिभिन्न स्थानहरुलाई राम्रो बनाउने, सेवामा सुधार ल्याउनु हो र त्यो लाईनमा हामीले कार्यक्रम बनाएका छौं । र त्यसरी नै हामी अगाडी बढीरहेका छौं ।’

होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिब विनायक शाहले पनि खर्च गरे अनुरुप प्रतिफल नआएको बताएका छन । उनले भने, ‘राज्यले उठाएको करबाटै खर्च गर्ने हो । खर्च गर्नु पर्छ तर खर्च गरे पछि त्यसको प्रतिफल के हामीसँग त्यसको कुनै उत्तर छैन ।’

भिजिट २०२० कै लागि ठूलै रकम खर्च गरे पनि प्रचार प्रसार भने प्रभावकारी हुन सकेको छैन । उनले भने, ‘अहिले सम्म गरेको प्रचार प्रसारको गति हेर्दा ५० प्रतिशत भन्दा बढी प्रभाबकारी देखिँदैन ।’

अहिलेको अवस्थासम्म आईपुग्दा भ्रमण बर्ष सफल नहुने पर्यटन व्यवसायीहरुको दावी छ । ‘हामी विदेशमा गएर कार्यक्रम गर्छौ तर त्यहाँका पर्यटक नेपाल आउने माध्यम के छ ? त्यहाँ हाम्रो कुनै जनसम्पर्क छ कि छैन, राजदूतावासबाट नै ल्याउने हो की यो कुरा राज्यले बुझनु पर्छ,’ शाहले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL