Logo

‘जेक्याव’ले निगमलाई दियो टिकट काट्न अनुमति, निगमको जहाजले जुलाई पहिलो हप्ताबाट जापान उडान भर्ने

‘जेक्याव’ले निगमलाई दियो टिकट काट्न अनुमति, निगमको जहाजले जुलाई पहिलो हप्ताबाट जापान उडान भर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले जापान उडान थाल्ने भएको छ । जापानको ‘जापान सिभिल एभिएसन ब्युरो’ जेक्यावले नेपाल वायु सेवा निगमलाई जापान उडान भर्न सहमति दिएसँगै जापान उडान थाल्ने बाटो खुलेको हो ।

नेपाल वायु सेवा निगमका सहप्रवक्ता नवराज कोईरालाले जेक्यावले कम्पनीको भाडादरमा सहमति जुटृपछि जापान उडानको बाटो खुलेको जानकारी दिए । उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले जुलाईको पहिलो सातादेखि काठमाडौं जापान उडान भर्ने भएको छ ।

जेक्यावले नेपाल वायुसेवा निगमलाई टिकट बुकिङ गर्नका लागि सहमति दिईसकेको निगमले जानकारी दिएको छ । निगमका अनुसार जापानले निगमको जहाजलाई काठमाडौं जापान उडानका लागि २० देखि २२ दिनपछि मात्रै उडान अनुमति दिनेछ ।

निगमले आगामी जुलाई पहिलो हप्तादेखि जापान उडानको अनुमति पाउने पक्का भएपछि टिकट विक्री खुला गरिएको पनि जानकारी दिएको छ । निगमका सहप्रवक्ता कोईरालाले जापानको जेक्यावले निगमलाई टिकट विक्री गर्नका लागि विभिन्न डकुमेन्ट पठाईसकेको जानकारी दिएका छन ।

निगमको जहाजले हप्तामा ३ दिन जापानको ओसाका उडान भर्नेछ । सहप्रवक्ता कोईरालाका अनुसार नेपालबाट विमान राति २ः४० बजे उड्ने र ओसाकाबाट जापानको समयअनुसार दिउँसो १ः५५ मा उडान भर्ने गरी अनुमति पाएको हो । हाल छोटो दुरीको उडान गर्दै आईरहेको निगमको वाईडबडी जहाज एक बर्ष पछि जापानमा उडान गर्ने भएको छ ।

निगमका अनुसार वाइडबडीले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार ओसाका उडान भर्नेछ । जेक्याबले जुलाई अगाडि नै उडान अनुमति दिए पनि गत फागुन १८ गतेदेखि तीन महिनाका लागि नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका लागि बन्द भए पछि जुलाईमा मात्रै उडान गर्ने भएको हो ।

निगमका अनुसार केही समय अगाडीनै जापानकै नारिता विमानस्थलमा समेत आफ्नो उडान भर्न अनुमति माग गरेको छ । तर उक्त विमानस्थलले हालसम्म अनुमति भने प्रदान गरिनसकेको निगमले जानकारी दिएको छ । प्रकृयामा रहेकाले केही समयमै त्यहाँबाट पनि अनुमति पाउने निगमको दाबी रहेको छ । काठमाडौंबाट ओसाका उडानका लागि ७ घण्टा तथा नारितामा उडानका लागि ८ घण्टा समय लाग्ने छ । जापानको दुबै विमानस्थलमा नेपाली जहाज वाईडबडीले उडान गर्न थाले पछि निगमले लिएको ऋण तिर्न समेत सहज हुने निगमको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL