Logo

विदेशी कम्पनीलाई बयानका लागि बोलाउँदै अख्तियार, एक हप्ता भित्र हाजिर हुन निर्देशन

विदेशी कम्पनीलाई बयानका लागि बोलाउँदै अख्तियार, एक हप्ता भित्र हाजिर हुन निर्देशन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाईडबडी बिक्रीमा संलग्न रहेका ५ ओटा अन्तरराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको छ ।

laxmi

नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज (वाइडबडी) बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तरराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई सार्वजनिक सूचनामार्फत् अख्तियारले बोलाएको हो ।

अख्तियारले आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाई एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ ।

बिहीबार सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । तोकिएको समय सीमाभित्र बयानका लागि नआए कानुनी रुपमै प्रक्रिया अघि बढाइने अख्तियारले जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानमा ४ अर्ब भ्रष्टाचार भएको लेखा समितिको प्रतिवेदनका आधारमा अख्तियारले छानबिन गरिरहेको छ ।

उपसमितिले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठहर गर्दै मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारलाई दोषी भनेको थियो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुईवटा जहाज किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL