Logo

भ्रमण बर्ष सफल पार्न बाधक बन्दै पर्यटन पूर्वाधार, अन्यौलमा बोर्ड र पर्यटन व्यवसायी

भ्रमण बर्ष सफल पार्न बाधक बन्दै पर्यटन पूर्वाधार, अन्यौलमा बोर्ड र पर्यटन व्यवसायी



काठमाडौं । सरकार भ्रमण बर्ष २०२० सफल पार्न विभिन्न योजना बनाएर अघि बढेपनि सोचेअनुरुप सफल नहुने पर्यटन व्यवसायीहरु बताउँछन । नेपालको भौतिक संरचना, प्रचारप्रसारमा कमि लगायतका कारणले पनि भ्रमणबर्ष सफल नहुने उनीहरुको धाराणा रहेको छ ।

तर नेपाल पर्यटनबोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले भने भ्रमण बर्ष सफल पार्न बिभिन्न कार्यक्रमहरु भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘मार्केटिङको काम भईरहेको छ । पर्यटन प्रवद्र्धन गर्ने भिडियोहरु अबको एक हप्ता भित्रै सार्वजनिक गर्दै जाने छौं जसले भ्रमण बर्षलाई सफल पार्न थप सहयोग पुग्ने छ ।’

तर भिजिट २०२० मा २० लाख पर्यटक ल्याउने सरकारको जुन टार्गेट छ त्यो पुरा हुन किठन हुने जोशीले जानकारी दिए । पर्यटन पूर्वधारमा हामीले सोचे अनुरुप काम गर्न नसक्दा समस्या आएको समेत उनले जानकारी दिए ।

‘विमानस्थलहरुको प्रगति केही मात्रामा भए पनि पर्यटक आउने बेला १०÷१० घण्टा विमानस्थल बन्द गर्नु परेको छ । त्यसले पनि हामीलाई घाटा भएको छ । जोशीले भने, ‘तर तत्काललाई हामीलाई केही घाटा होला त्यसले दिगो रुपमा पर्यटनमा फाईदा पुग्ने विश्वास लिएको छु ।’

उनका अनुसार नेपालमा धेरै पर्यटक आउने भनेको भारत र चीन नै हो । तर, हामीले त्यसतर्फ कम ध्यान दिएको हो कि भन्ने पनि लाग्छ । नेपाली जहाजले चीन उडान भर्न सकेको छैन । लामो दुरीको उडान गर्न नसक्दा पनि हामीले सोचे जति सफल नहुन सक्ने उनको आशंका छ ।

भारतबाट मात्रै दैनिक ३÷४ उडान भर्ने जेट एयर मे ४ सम्मको लागि स्थगित भएको छ । जसले गर्दा पनि पर्यटन आगमनमा कमि आउने छ । जोशीले भने, ‘यस्तै विषय बस्तुहरुले गर्दा भिजन २०२० सफल नहुने हो कि भन्ने लाग्छ तर हामीले गर्नु पर्ने कामहरु हामी गरिरहेका छौं ।’

ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले भने ब्यवसायीहरुको मागलाई सम्बोधन नगर्दा भिजन २०२० नारामा मात्रै सिमित हुने बताएका छन ।

बिभिन्न बहानामा पर्यटन ब्यवसायीहरुलाई दुख दिने, विभिन्न ठाउँहरुमा राज्यले तोकेको भन्दा बढी शुल्क लिने जस्ता कार्यले गर्दा समस्या उत्पन्न हुन्छ । ‘यस्ता विषय साना देखिए पनि सरकारले वेवास्ता गरे दुर्भाग्य हुन्छ । भ्रमण बर्ष सफल हुँदैन,’ उनले भने, ‘हालको गति हेर्दा र सबैलाई समेटन नसक्दा भ्रमण बर्ष सफल हुनेमा शंका छ ।’

विगतमा पनि हामीले नेपाल भ्रमण बर्ष मनाएका थियौं आंशिक रुपमा त सफल भयौं तर पूर्ण सफल हुन सकेनौं । तर अहिले सरकार स्थिर छ निजी क्षेत्र र सरकारबीच तालमेल मिलेको छ । पूर्ण रुपमा सफल नभए पनि केही मात्रमा सफल हुने दाहालको विश्वास छ ।

सरकारले ब्यवसायी पर्यटन पोलिसी अहिलेसम्म नल्याउने, भुकम्पले ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण तीब्र नहुनु तथा पर्यटन पूर्वधारमा प्रगति नहुनुले पनि भिजन २०२० सफल हुनेमा आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL