Logo

नयाँ वर्षसँगै पर्यटकीय गन्तव्य भरिभराउ, ६० प्रतिशत पर्यटक नेपाली

नयाँ वर्षसँगै पर्यटकीय गन्तव्य भरिभराउ, ६० प्रतिशत पर्यटक नेपाली



काठमाडौं । नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ ।

laxmi

पर्यटनका हिसावले चिनिएका पोखरा, चितवनका अलावा अन्य लामो दूरीका साहसिक गन्तव्यमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । यतिखेर पदयात्रा तथा धार्मिक पर्यटनका लागि उल्लेख्य संख्यामा आन्तरिक पर्यटक देशका विभिन्न गन्तव्यमा पुगेका छन् ।

वसन्त ऋतुको यो सिजन खासगरी पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिन्छ । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन यतिबेला उल्लेख्य संख्यामा विदेशी पर्यटक आएका छन् । नयाँ वर्षमा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन पनि बढेको छ ।

राजधानी नजिकका नगरकोट धुलिखेल, चन्द्रागिरीलगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बाक्लिएका छन् । राजधानी बाहिरका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, पवित्र धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथिभरा, धनकुटाको भेडेटार दोलखाको कालीञ्चोक, मनाङको मुक्तिनाथलगायतका क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड बढेको छ ।

ती गन्तव्यका होटल तथा रेस्टुराँ पाहुनाले भरिएका छन् ।

खासगरी राजधानी नजिकका पोखरा र चितवनका होटल पर्यटकले खचाखच भरिएका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा फेवा महोत्सव चलिरहेको छ । पोखरामा अहिले आन्तरिक पर्यटकको भीड लागेको छ । पोखराका होटल व्यवसायी भरत पराजुलीले पर्यटनको मुख्य सिजन, नयाँ वर्षको सन्दर्भ तथा बिदा मनाउन आउने आन्तरिक पर्यटकको चाप बढेको बताएका छन ।

होटल पिस प्लाजाका सञ्चालक पराजुलीले यो सिजनमा ८० देखि ९० को हाराहारीमा पोखराका होटल भरिभराउ छन् । क्षेत्रीय होटल संघ पोखराका अनुसार स्वदेशी तथा विदेशी गरी वार्षिक १० लाख पर्यटक पोखरा पुग्ने गरेका छन् । गण्डकी प्रदेशले ‘आन्तरिक भ्रमण वर्ष–२०१९’ को घोषणा गरी वार्षिक १५ लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ ।

यो लक्ष्य भेटन गाह्रो नहुने व्यवसायी बताउँछन् । यता अर्को प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहासँगै पटिहानी, जगतपुर र मेघौलिका होटल पनि आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत विदेशी रहेका छन् ।

सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताएका छन । चरिकोट (दोलखा) को कुरीस्थित होटल सुनापतिका सञ्चालक हरि ओलीका अनुसार कालीञ्चोक भ्रमण जाने पर्यटकको घुइँचो लागेको छ । अहिले दैनिक २ हजार भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । यो क्षेत्रमा ४५ वटा होटल छन् ।

होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार अहिले ७० प्रतिशतको हाराहारीमा होटल बुकिङ भएका छन् । हानका महासचिव विनायक शाहका अनुसार अहिले पदयात्रा र हिमाल आरोहणका लागि उल्लेख्य संख्यामा पर्यटक आएका छन् । खासगरी पाँचतारे र पर्यटकस्तरीय होटलमा पर्यटकको चाप बढ्दो छ । हानको विवरणमा मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब १ हजार पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय थपिएका तीनसहित अहिले १३ पाँचतारे होटल सञ्चालनमा छन् ।

पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यो सिजनमा शुक्रबारसम्म सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहणका लागि ७५ आरोहण समूहका ६६७ आरोही गन्तव्यतिर लागेका छन् ।

पर्यटकीय मौसम सुरु भएसँगै धेरै आरोहीको चहलपहल बढेको ट्रेकिङ् एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले बताए । पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी संख्यामा पर्यटक आएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुलबहादुर गुरुङले अनुकूल मौसम भएकाले वसन्त ऋतुमा साहसिक पर्यटकीय गतिविधि बढ्ने बताए । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत शर्मा गुरागाईंले उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL