Logo

भिजिट नेपाल २०२० सफल पार्न विमानस्थलबाटै सहयोग गर्नु पर्ने, टुटल र पठाओलाई कारवाही गर्न माग

भिजिट नेपाल २०२० सफल पार्न विमानस्थलबाटै सहयोग गर्नु पर्ने, टुटल र पठाओलाई कारवाही गर्न माग



काठमाडौं । भिजिट नेपाल २०२० लाई सफल बनाउन विमानस्थलबाटै सहयोग हुनु पर्ने बिज्ञहरुले बताएका छन । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पर्यटकको पहिलो गन्तब्य भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो ब्यवहार हुनु पर्ने बताएको हो ।

laxmi

हवाई यात्रु यातायात सेवाको व्यवस्था लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा बिज्ञहरुले सो कुरा बताएका हुन । राष्ट्रिय सभाका सदस्य तथा व्यवस्थापन समितिका सभापति रामनारायण विडारीले विमानस्थलमा सञ्चालित सवारी साधनले स्वदेशी तथा विदेशी पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘विमानस्थलमा सञ्चालित सवारीसाधनले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ ।’, यसरी राम्रो सेवा दिन सके पर्यटक खुसी हुने र नेपालमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने उनको भनाई रहेको छ ।

उनले ब्यवसायीहरुलाई नियम र कानूनमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेका छन । उनले भने, ‘निजीसवारी साधनले यात्रु बोक्न पाइँदैन, निजी सवारी साधनले यात्रु बोके राज्यले कारबाही गर्नुपर्छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशैभरीको यातायात क्षेत्रको सुधारका लागि महासंघले काम गरिरहेको बताएका छन । उनले भने, ‘यातायात क्षेत्रलाई चुस्त र दुरुस्त ढङ्गले सञ्चालन गर्न सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ ।’

त्यसतै प्रदेश नं ३ का सांसद जगत सिंखडाले यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पुरा हुन नसक्ने बताएका छन । विदेशी पर्यटकको पहिलो नजर विमानस्थलमा सञ्चालित यातायातमा पर्ने भएकाले त्यहाँका सवारी साधनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नु पर्ने उनको धारणा रहेको थियो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पर्यटकको नेपाल प्रवेशद्धारा विमानस्थल भएकाले पर्यटकलाई राम्रो व्यवहार, आचरण र सत्कार गर्नुपर्ने बताएका छन ।

महासंघका महासचिव सरोज सिटौलाले भने नीजी सवारी साधनले कानुनविपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताएका छन । उनले भने, ‘टुटल, पठाओ र नीजी कारहरुले कानुनविपरीत मान्छे बोक्दा सरकार किन मौन बस्छ ।’

व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले स्वदेशी तथा विदेशी पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताएका छन ।

नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको अध्यक्ष बिजयबहादुर स्वाँरले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL