Logo

तनहुँको अर्चलेडाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल, व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी

तनहुँको अर्चलेडाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल, व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी



काठमाडौं । तनहुँको व्यास नगरपालिका ११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट शनिबार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँमा पर्यटकलाई आकर्षित गर्न तथा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो ।

पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शंकर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन । विगतमा पनि एकल प्याराग्लाइडिङको उडान गरिएको भए पनि पहिलोपटक डबल उडानको परीक्षण गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले जानकारी दिएका छन ।

प्याराग्लाइडर आचार्य र पराजुलीले व्यास–११ का वडाध्यक्ष निरबहादुर खड्का र स्थानीय विष्णु मास्कीसँग पहिलो उडान गरेको हो । अर्चलेडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङको सोही वडाको फराकचौरमा अवतरण गरिएको थियो । खड्काका अनुसार उक्त ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङको सम्भावना अध्ययनका लागि परीक्षण गरिएको हो । उनले भने, ‘यस ठाउँमा प्याराग्लाइडिङमार्फत पर्यटक आकर्षित गराई समग्र यस क्षेत्रकै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेका छौँ ।’

व्यावसायिक रूपमा प्याराग्लाइडिङका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा समेत जोड दिने खडकाले बताए । पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका आचार्यले उक्त ठाउँ प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रहेको समेत बताए ।

पोखरा र बन्दीपुरमा विगत ७ वर्षदेखि प्याराग्लाइडिङ उडान गर्दै आएका उनले अर्चलेडाँडाबाट व्यावसायिक रूपमा नै प्याराग्लाइडिङ गर्न सकिने सम्भावना रहेको बताएका हुन ।

तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवा ५ किलोमिटर र त्यहाँबाट ३÷४ किमीको दूरीमा सो ठाउँ रहेको छ । उक्त ठाउँका केही घरमा घरबाससमेत सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए सो ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठले बताए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL