Logo

निगमको ३ वटै ग्राउण्डेड जहाज आगामी हप्ताबाट संचालनमा, विमानस्थलाई तिर्नुपर्ने बक्यौता २५ करोड पुग्यो

निगमको ३ वटै ग्राउण्डेड जहाज आगामी हप्ताबाट संचालनमा, विमानस्थलाई तिर्नुपर्ने बक्यौता २५ करोड पुग्यो



काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउण्डेड जहाज आगामी हप्तादेखि संचालमा आउने भएको छ । हाल आन्तरिक उडान भर्दै आएको वाई १२ सिरिजको ३ वटै जहाज ग्राउण्डेड रहेको छ ।

आगामी हप्ताबाट उक्त जहाजहरु संचालनमा ल्याइने निगमले जानकारी दिएको छ । घाटा बेहोर्दै आएको निगमले आन्तरिक उडान भर्दै आईरहेको वाई १२ सिरिजका ३ ओटा जहाज पाईलट अभाव भएको भन्दै फेब्रुअरी १ बाट ग्राउण्डेड गरेको हो । उक्त जहाजहरु संचालनमा ल्याउन अझै एक हप्ता लाग्न सक्ने निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

उक्त ३ ओटा जहाज पार्किङ गरेवापत निगमले झण्डै ७० हजार रुपैयाँ पार्किङ शुल्क बुझाउनु पर्ने भएको छ । पाईलट अभाव भएको भन्दै वाई १२ सिरिजका ३ ओटै जहाज ग्राउण्डेड राखे पछि निगमले विमानस्थललाई सो रकम बुझाउनु पर्ने भएको हो ।

पछिल्लो समयमा हायर एण्ड फाएर नीति लिए पछि विदामा बसेका क्याप्टेनहरु फर्के पनि नागरिक उड्डयन प्राधिकरणले मेडिकल चेकअप गर्नु पर्ने बताए पछि जहाज संचालनमा ल्याउन समय लागेको निगमले जानकारी दिएको छ ।

हाल आन्तरिक उडानको लागि निगमसँग ५ जना क्याप्टेन रहेको र सोही क्याप्टेनहरु मार्फत एक हप्ता भित्रै केही जहाज भने संचालनमा ल्याउने निगमले जानकारी दिएको छ ।

त्यस्तै अर्को हप्ता क्याप्टेन आङनुरी शेर्पा एक दिने तालिमको लागि चीन जाने भएकाले पनि जहाज उडानमा समस्या पर्ने देखिएको छ । नयाँ नियुक्त गरेका दुई पाईलट (वरिष्ठ क्याप्टेन केबी लिम्बु र तिजुनाथ नेपाली) लाई एक महिने तालिम दिएपछि मात्रै जहाजलाई फुल फेजमा उडान भर्ने निगमको लक्ष रहेको छ ।

निगमको वाई १२ जहाजसँगै १ ट्वीनअटर र एमए ६० जहाज पनि लामो समय देखी ग्राउण्डेड रहेको छ । उक्त जहाजलाई पनि मार्च भित्रै संचालनमा ल्याउने गरि मर्मत भईरहेको कोईरालाले जानकारी दिएका छन ।

पछिल्लो समय निगमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने बक्यौता बापतको रकम मात्रै २५ करोड रुपैयाँ पुगेको छ । मासिक रुपमा बक्यौता रकम बुझाउँदै आएको भए पनि निगमले विमानस्थललाई अझै २५ करोड रुपैयाँ बुझाउन बाँकी रहेको हो विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL