Logo

विमानस्थलका पसलहरुमा चर्को मूल्य, यस्तो छ महँगो हुनुको कारण

विमानस्थलका पसलहरुमा चर्को मूल्य, यस्तो छ महँगो हुनुको कारण



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) को मुहार फेर्ने क्रम निरन्तर जारी छ । तर विमानस्थल भित्र भएका पसलहरुको अबैध गतिविधि भने अझै रोक्न सकेको छैन । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा रविन्द्र अधिकारीलाई नियुक्ती गरेसँगै विमानस्थलको स्वरुपमा परिवर्तन आएको छ ।

पर्यटन मन्त्री अधिकारी आए सँगै विमानस्थलमा यात्रुहरुलाई सहज बनाउन कुर्चीहरु थप्ने, रंगरोगन गर्ने कार्य देखी लिएर फ्रि वाईफाई सम्मको सेवा थपिएको छ । हालै बिमानस्थल भित्र कार्पेटिङ गर्ने देखी विदेशी पाहुनालाई स्वागत सत्कार गर्न पानी भरेको गाग्रो राख्ने र पर्यटकहरुलाई आकषिर्त हुने खालका आँखी झ्याल बनाउने लगायतका कामहरु समेत सुरु गरिसकिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

यस्तै विमानस्थललाई नेपाल को सांस्कृतिक ऐतिहासिक र प्रकृति सम्मिश्रण झल्किने बुटिक विमानस्थल बनाउने भन्दै अहिले पर्यटन मन्त्रालयले एक भिडियो समेत सार्वजनिक गरिसकेको छ । विमानस्थलमा क्रमिकरुपमा सुधार भए पनि विमानस्थल भित्र हुने पसलहरुको दादागिरीमा भने अझै कमि आएको छैन । विमानस्थल भित्र रहेका पसलहरुले लिएको मूल्य भने बजार मूल्य भन्दा आकाशपातालको फरक रहेको जनगुनासो बढ्दै गईरहेको छ ।

स्वभाबैले बजार क्षेत्र भन्दा विमानस्थल भित्र मूल्यमा केही बढी देखिएको विमानस्थलका महाप्रवन्धक क्षेत्रीको बताए । तर पर्यटन मन्त्री अधिकारीको निर्देशनसँगै बढेको मूल्यलाई १० प्रतिशत घटाएको समेत उनले जानकारी दिएका छन ।

यस्तो छ महँगो हुनुको कारण

विमानस्थल भित्र कुनै पनि सामग्री खरिद गर्दा बजार मूल्य भन्दा केही बढी रकम तपाई हामी सबैले तिर्ने गरेका छौं । विमानस्थलले पसलको लागि सटर भाडामा दिँदा टेण्डर गरेर दिने भएकाले जसले बढी राजस्व तिर्छ उसैले पसल संचालन गर्न पाउने भएकाले पनि विमानस्थल भित्रको मूल्य बढी देखिएको हो ।

‘विमानस्थलले एक पटक भाडाका लागि टेण्डर आह्वान गर्दा कसैले १ करोड रुपैयाँको टेण्डर हालेको हुन्छ त कसैले २ या ३ करोड रुपैयाँको टेण्डर भरेको हुन्छ । राजस्व घटाउन नमिल्ने भए पछि स्वत ३ करोड रुपैयाँको टेण्डर भर्ने फर्मले टेण्डर हात पार्ने गर्छ । सोही अनुसार दोस्रो पटक टेण्डर गर्दा पनि ३ करोड रुपैयाँ भन्दा नघट्ने गरी टेण्डर गर्नु पर्ने हुन्छ’ क्षेत्रीले भने ।

‘हाल विमानस्थल भित्र ३ वर्षको ९ करोड ६० लाख रुपैयाँ सम्म तिर्ने पसल छन, ति पसलले २५ रुपैयाँमा चिया कसरी खुवाउन सक्छन,’ क्षेत्रीले भने, ‘विमानस्थल भित्रको मूल्यलाई लिएर हामी चनाखौ छौं बेलाबेलामा अनुगमन भईरहन्छ ।’

विमानस्थल भित्रको सटर भाडा महंगो भएकाले पनि ग्राहकहरुले बढी मूल्य तिर्नु परेको उनको भनाई छ । तत्काललाई मूल्य समायोजन गर्न सम्भव नभए पनि छलफल गरेर मूल्य समायोजन हुने क्षेत्रीको भनाई छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL