Logo

वाईडबडी खरिद प्रकरण : पर्यटन मन्त्रालय गम्भिर नभएको लेखा समितिको आरोप

वाईडबडी खरिद प्रकरण : पर्यटन मन्त्रालय गम्भिर नभएको लेखा समितिको आरोप



काठमाडौं । सार्वजनिक लेखा समितिले वाईडबडी खरिद प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालय गम्भिर नभएको आरोप लगाएको छ ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले निगमले नयाँ जहाज खरिद गर्दा केही ऋण देखिएकाले अहिले नै आत्तिनु नपर्ने बताए पछि समिति सदस्यहरुले गम्भिर नभएको आरोप लगाएका हुन ।

तर पर्यटन मन्त्रीले भने निगमको विषयमा मन्त्रालय गम्भिर भएको जानकारी दिएका छन । मन्त्री अधिकारीले वाईडबडी जहाजको खरिद प्रकरणमा अहिले बिभिन्न समितिले अध्ययन गरिरहेको र सबैको रिर्पोट आए पछि गलत गर्नेलाई कावार्ही गर्ने समेत बताएका छन ।

मन्त्री अधिकारीले समितिले खोजेको प्रश्नको उत्तर सहि तरिकाले नदिएको भन्दै लेखा समितिले वाइडबडी जहाज खरिदको विषयमा मन्त्रालयले बनाएको छानबिन समितिको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन । समितिका सभापति भरतकुमार शाहले मन्त्रालयले बनाएको समितिको रिपोर्टमा के के छ भन्ने बिषय समेत सार्वजनिक गर्न आग्रह गरेका छन ।

पर्यटन मन्त्री अधिकारीले युरोपियन युनियन (ईयू) ले नेपाललाइ कालो सूचीमा राखिराख्नु औचित्य नरहेको समेत बताएका छन । लेखा समितिको बैठकलाई संवोधन गर्दै मन्त्री अधिकारीले आईकाओले कालो सूचीबाट हटाई सकेको अवस्थामा ईयूले मात्र कालो सूचीमा राख्नु औचित्यहिन रहेको बताए ।

मन्त्री अधिकारीले इयूको कालो सुची सम्भवत मार्च, अप्रिलबाट हट्ने समेत जानकारी दिएका छन । हामीले हाम्रो तर्फबाट गर्नु पर्ने सुधार गरेको भन्दै इयूको सुचीबाट मार्चबाट हटन सक्ने संकेत दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL